गंगाराजको सांगीतिक ‘आभास’ सार्वजनिक


Album-Launch
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सांगीतिक आकाशमा बुधबारबाट एक नयाँ प्रतिभा थपिएका छन् । भोजपुर घर भई हाल यूके बस्दै आएका युवा गायक गंगाराज राईले डेब्यु एल्बम ‘आभास’ श्रोतामाझ ल्याउँदै नेपाली संगीतमा एउटा इँटा थप्ने काम गरेका छन् । उनको एल्बमलाई राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, प्रस्तोता समाजका अध्यक्ष तथा गायक रामकृष्ण ढकाल, संगीतकार तथा प्राज्ञ शान्तिराम राई, संगीतकार महेश खड्का र गायिका पार्वती राईले एकसाथ विमोचन गरे ।

एल्बममा ‘कहाँबाट सुनाउँ’, ‘म बस्ने त्यो मुटुमा’, ‘यसैगरी हराई दिउँकी’, ‘धड्कन बनि धड्की रहन्छौ’ र ‘हिँड्दा हिँड्दै बाटो तिमीले’ बोलका गीत छन् । चन्द्रावती राईको एकल रचना रहेको एल्बममा महेश खड्का, पावेल चाम्लिङ राई र बीसी राईको संगीत रहेको छ । एल्बमको एक गीतमा मनिला सोताङको समेत स्वर रहेको छ । कार्यक्रममा ब्याकुल माईलाले गंगाराजलाई एक ईमान्दार र शास्त्रीय गायनमा राम्रो दख्खल राख्ने गायकको रुपमा आफुले चिनेको बताए ।

संगीतकार तथा प्राज्ञ राईले नेपाली संगीतमा भईरहेको पाईरेसीलाई रोक्न सक्नुपर्नेमा जोड दिए भने गायक ढकालले पनि सीडी बेचेर लगानी नउठ्ने भएकाले पुस सेल गरेरै भए पनि लगानी उठाउनुपर्ने बाध्यता रहेको जनाए । संगीतकार खड्काले नेपालमा मात्रै नभएर विभिन्न देशमा समेत नेपाली संगीतको प्रयोजन हुँदैं आएकोमा त्यस्ता देशहरुमा गंगाराज जस्ता कलाकारले रोयल्टी संकलन गरेर नेपाल पठाउने अभियानमा लाग्नु पर्ने सुझाव दिए ।

SUBSCRIBE 👉