युरोपको सांगीतिक भ्रमणबाट फर्किए सत्य–स्वरुप


Satya-Swarup
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सुगम संगीतका चर्चित गायक दाजुभाई सत्यराज आचार्य र स्वरुपराज आचार्य युरोपको एक महिने सांगीतिक कार्यक्रम सकेर बिहीबार स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपका सचिव बेनीबहादुर ढुंगानाको पहलमा युरोपका सातवटा स्थानमा गरिएको ‘सत्य–स्वरुप एकल साँझ’मा आफ्नो प्रस्तुति दिई उनीहरु स्वदेश फर्किएका हुन् ।

गायक स्वरुपका अनुसार यो जोडीले युरोपका बेल्जियम, जर्मनी, डेनमार्क, लक्जम्बर्ग, नेदरल्याण्डलगायतका स्थानमा कार्यक्रम गरेको थियो । ‘हामीले प्रत्येक कार्यक्रमस्थलमा २५ देखि ३० वटा गीतहरु प्रस्तुत गर्यौ,’ उनले भने,‘प्राय सबै कार्यक्रमहरुमा टिकट सोल्डआउट भएको थियो, आयोजकहरुबाट पनि राम्रो किसिमको स्वागत पायौं ।’

विभिन्न संस्थाले स्थानीय तवरबाट आयोजना गरिएको कार्यक्रमबाट संकलित रकमको केहि अंश भजन शिरोमणि भक्तराज आचार्यको नामबाट सञ्चालित ‘भक्तराज आचार्य संगीत प्रतिष्ठान’को कोषमा जम्मा गरिने ढुंगानाले बताए । प्रतिष्ठानले प्रत्येक वर्ष बिन्दवासिनी संगीत सम्मानमार्फत एक विशिष्ट संगीत सर्जकलाई सम्मान स्वरुप ५० हजार प्रदान गर्दै आएको छ ।

SUBSCRIBE 👉