हावा तालको पब्लिसिटीमा मलाई रुचि छैन – नम्रता श्रेष्ठ


“दर्शक यति स्मार्ट भइसके, तर हामी चाहिँ अझै फिल्मको नाम लेखिएको टिसर्ट बाँडेर पब्लिसिटी गरिरहेका छौं। यस्ता धेरै आउटडेटेड आइडिया अझै कायम छन्। एस्तो हावा तालको पब्लिसिटीमा मलाई रुचि छैन।”

namrata-shrestha

अभिनेत्री नम्रता श्रेष्ठ नेपाली फिल्मकी सुन्दरी नायिकाको सूचीमा पर्छिन्। फिल्म ‘सानो संसार’बाट नेपाली रजतपटमा डेब्यु गरेकी यी नायिका अहिलेकी व्यस्त नायिकामा गनिन्छिन्। उनलाई एसएलसी दिउञ्जेलसम्म अभिनेत्री हुने कुनै रहर थिएन रे। तर, यतिबेला उनी अभिनय बाहेक केही नसोच्ने भएकी छिन्। उनी अभिनित फिल्म ‘ताण्डव’ र ‘सम्बोधन’ रिलिजको तयारीमा छन्।

# नेपालमा कलाकारिता गतिलो करिअर हुन सक्दैन भन्ने मान्यता रहेकै बेला तपाईंले कामको सहजताका लागि म्यानेजर राख्नुभएछ ?
केही समयअघि म बिरामी भएँ। यसले काम रोकियो। त्यसपछि पुरानो काम सकाउने, सँगै नयाँ काम गर्ने सेड्युल मिलाउन सहज भएन। यही कारण केही समयदेखि म्यानेजर राखेर काम गर्न परिरहेको छ।

# पछिल्लो समय तपाईंको व्यस्तता पनि निकै बढेको हो?
पहिले मलाई धेरै फिल्म गर्नु थिएन। वर्षमा एउटा राम्रो फिल्म गर्छु भनेर अघि बढिरहेकी थिएँ। तर, यामाहाको प्रमोसनल टुरमा जाँदा अडियन्सले मलाई हेर्न चाहेको कुरा राखे। फिल्ममा त्यति देख्न नपाएको गुनासो गरे। त्यसपछि चाहिँ यही क्षेत्रका लागि भनेर लागिरहेकी छु भने राम्रो फिल्म भ्याएसम्म किन नगर्ने भन्ने लाग्यो । त्यो अनुसार अहिले बढी काम गरिरहेकी छु।

# तपाईं हिरोइन भएका यो वर्ष रिलिज फिल्म व्यावसायिक रुपमा सफल रहेनन्। र, पनि तपाईंलाई फिल्ममा अफरको कमी छैन। नेपालमा फिल्म सफल हुनु र नहुनुसँग कलाकारको करिअरको अन्तरसम्बन्ध नहुने रहेछ ?
फिल्म हिट नहुनुसँग हामी मात्रै जोडिएका हुँदैनौं। फिल्म राम्रो हुँदाहुँदै पनि प्रमोसन राम्रो हुँदैन, शो टाइम राम्रो पाइँदैन भने फिल्म कसरी सफल हुन्छ ? फिल्म क्षेत्रमा धेरै पोलिटिक्स पनि छ, जसले गर्दा पनि सबै राम्रा फिल्म सफल हुन सकेका छैनन्। फिल्म ”मौन” क्यू एफएक्समा चार हप्ता चल्यो तर फ्लप भन्ने हल्ला फैलियो । हेर्नेले नराम्रो पनि भनेका छैनन्। फिल्म ‘मेघा’ हेर्न हाम्रै होस्टेलका बहिनीहरु जाँदा हाउसफुल भनेर टिकट बन्द गरिएको थियो रे। पछि उनीहरु हलमा पस्दा पूरै खाली थियो। हामीले यसलाई कसरी ‘जज’ गर्ने ? मैले हिट र फ्लपको जज गर्न छाडिसकें, मलाई जबसम्म राम्रो स्क्रिप्ट आइरहन्छ, काम गरिरहन्छु।

# हलबाहिर नम्रता श्रेष्ठको गजबको चार्म छ भनिन्छ। त्यो महसुस पनि गर्नुभएको होला। तपाईंको फिल्म हेर्न हलभित्र दर्शक कम पुग्छन्। चित्त दुख्दैन?
मलाई त अरुको फिल्म फ्लप हुँदा पनि चित्त दुख्छ। म फिल्ममा काम गर्दा पूरै टिमलाई किन हेर्छु भने यो टिमवर्क हो। तर, मिडियामा आउने हिट र फ्लपको समाचारलाई विश्वास गर्न भने छाडिसकें। किनभने, कति फ्लपलाई हिट र हिटलाई फ्लप भनिरहेका हुन्छन्। निर्देशकलाई सोध्छु, उहाँहरुका अनुसार रिजल्ट थाहा पाउँछु । फ्लप भयो भने के पुगेनछ भनेर पनि सोध्छु।

# फिल्मको सफलताको लागि प्रचारको कत्तिको भूमिका हुन्छ ? आफ्नो फिल्मको प्रचारलाई कत्तिको टाइम दिनुहुन्छ ?
पब्लिसिटीको महत्व छ। म क्रिएटिभ पब्लिसिटीका लागि सदा लालायित पनि हुन्छु। फिल्म ‘सानो संसार’का बेला कलेजमा पुगेर अन्तरक्रिया गर्नेदेखि पोस्टर टाँस्नसम्म आफैं पुगेका थियौं। त्यो त्यतिबेलाका लागि नयाँ थियो। निर्मातालाई अहिले पनि म आफैं भन्छु, ‘पब्लिसिटी प्लान म बनाउँकी’ भनेर। दर्शक यति स्मार्ट भइसके, तर हामी चाहिँ अझै फिल्मको नाम लेखिएको टिसर्ट बाँडेर पब्लिसिटी गरिरहेका छौं। यस्ता धेरै आउटडेटेड आइडिया अझै कायम छन्। हामी इन्टनटेनर हौं, हाम्रा कुरा रिसिभरसम्म पुग्नका लागि पब्लिसिटी चाहिन्छ। तर, हामीले अझै दर्शककहाँ गएर ‘प्लिज, हाम्रो फिल्म हेरेर दया गरिदिनू’ भन्ने होइन। हाम्रो फिल्म यस्तो छ, यसकारण इन्टरटेन गर्न सक्नुहुन्छ भनेर विश्वास दिलाउने हो। हावा तालको पब्लिसिटीमा मलाई रुचि छैन।

# तपाईंकै अपकमिङ एउटा फिल्मको प्रचार स्टन्ट आजै हेरेको थिएँ। कुनै एकजनासँग तपाईंको अफेयर हुन सक्ने कुरा जोडेर फिल्मको कुरा भइरहेको थियो। यो परम्परागत पब्लिसिटी स्टन्ट तपाईंको सहमतिमा थियो ?
प्रचारका नाममा मेरा ५० प्रतिशत इन्टरभ्यू मलाई नसोधी छापिन्छन्। शुभचिन्तकले फोन गरेर ‘नम्रताजी, तपाईंलाई यस्तो मन पर्ने रहेछ नि’ भनेर सोध्दा पो दंग खान्छु। यसैगरी यो पनि आइरहेको होला। मैले हेरेकी थिएँ, कसैसँग मलाई जोडिएको थियो। तर, उहाँसँग मेरो अफेयर रहेको कुरा ठोकुवा गर्न नसकेकाले वास्ता गरिनँ। यसअघि पनि नकिम दाइ बिरामी हुँदा कर्मा र म सँगै भेट्न गएका थियौं। अफेयरमा रहेको हल्ला चलाइएको थियो।

# यस्ता हल्लाले तपाईंलाई कत्ति पनि हल्लाउँदैन ?
पहिला–पहिला असर पथ्र्याे। पछि साथीभाइ र आफन्तले ‘यस्ता कुरामा अल्झिन थाल्यो भने कहीँ पुगिँदैन, बेवास्ता गर्नुपर्छ’ भनेर सल्लाह दिए। अहिले पाठक स्मार्ट छन्, उनीहरु पनि फिल्टर गरेर पढ्छन्। सानै ग्रुप होला, जसले मलाई आइडल मान्छ। उनीहरु विभिन्न माध्यमबाट सम्पर्कमा आएर पनि प्रस्ट हुन्छन्। त्यसैले तनाव हुँदैन्। यी कुराहरु भोलि प्रमाणित भएनन् भने अविश्वसनीय हल्ला चलाउनेहरु नै हुन्छन्। आफैंले सही र गलत छुट्याउलान्।

# तपाईंको अनुहार सदा चार्मिङ रहनुको रहस्य के हो ?
त्यस्तो केही पनि छैन। सुटिङमा पनि मेकअपमा म आफैंले लिएका सामान प्रयोग गर्छु। धेरै पनि गर्दिन, किनकि मलाई धेरै मेकअप गर्दा आफू मूर्ति भए जस्तो लाग्छ। चरित्रमा पनि असली अनुहार आओस् भन्ने चाहन्छु।

# सुन्दरता मासिएला भन्ने कतिको पिर लाग्छ ?
सबै हाँस्छन् होला, मलाई कहिल्यै सुन्दरताको चिन्ता लागेन। मेरो सुन्दरताप्रति मेरी दिदी र ममी बरु सचेत हुनुहुन्थ्यो। किनभने, पहिले मलाई अभिनेत्री बन्ने कुनै इच्छा थिएन। म्युजिक भिडियोमा अफर आयो, गरें। त्यसपछि फिल्म ‘सानो संसार’का लागि आलोक नेम्वाङ दाइले अडिसन दिन बोलाउनुभयो। आउँदिनँ भनेकी थिए, कर गरेपछि अडिसन दिएँ। त्यहाँ छनोट भएँ। त्यसपछि पनि ‘फिल्म खेल्ने होला र’ भन्ने लागिरहेको थियो। किनभने, त्यसअघि पनि केही फिल्मको अफर आएर पनि मैले अस्वीकार गरिसकेकी थिएँ। म नेपाली फिल्मको दर्शक थिइनँ, त्यसैले नेपाली फिल्म खेल्दिनँ भन्ने थियो। अहिले यही क्षेत्रमा छु। कुनै पछुतो छैन्।

# हिरोइन हुनका लागि सुन्दरताले कति प्रतिशत सहयोग गर्ने रहेछ ?
मलाई राम्री भएर मात्रै हिरोइन भइन्छ जस्तो लाग्दैन। हिरोइन क्यारेक्टर हो। क्यारेक्टरमा फिट हुने सबै राम्रा हिरोइन हुन्। म जुन दिन यो क्षेत्रमा आएँ, त्यो दिनदेखि अभिनय सिक्नमै केन्द्रित छु। म प्रशिक्षित कलाकार होइन। त्यसैले सहकर्मी कलाकारसँग केही सिक्न पाइन्छ भन्ने लोभले नजिकिन्छु। पहिलो फिल्ममा कर्मासँग सिकें। त्यसैगरी सौगात (मल्ल) दाइ जस्ता अभिनेतासँग सदा छलफल गरिरहेकी हुन्छु।

# आफूलाई आफू कतिको राम्रो लाग्छ ?
पहिला खास लाग्नैथ्यो। एउटा कार्यक्रमका लागि विदेशी कलाकारहरुसँग तीन दिन रहँदा भने मलाई राम्री पनि रहिछु भन्ने अनुभव भएको थियो। किनभने, त्यहाँ विभिन्न देशका महिला कलाकार थिए, तर त्यहाँ बाहिर रहेका अडियन्सले मसँग तस्बिर खिचाउन चाहे।

# तपाईंलाई हिरोइन बन्न मन थिएन। के बन्न चाहिँ मन थियो ?
मलाई बच्चा खूब मन पर्छन्। आफू सानो हुँदा पनि म बच्चा लिएर हिँडिरहेकी हुन्थें। त्यसैले चाइल्ड साइकोलोजिस्ट बन्ने ठूलो रहर थियो। त्यता सोच्नै नपाई यता करिअर सुरु भइसकेछ। तर, पछुतो भने छैन।

# विश्वकपको ज्वरोले कतिको ग्रस्त बनाएको छ ?
हेर्न पाएसम्म हेर्छु। ज्वरो आउनै नपाई सेलायो । किनभने, सुरुका खेल हुँदा म सुटिङका लागि बाहिर थिएँ। म काठमाडौं आउँदा मन परेको टिम स्पेन बाहिरिसकेको थियो।

# स्पेनको जर्सी खेर गएछ?
मसँग जर्सी मात्रै कहाँ हो र ? क्याप, टिसर्ट, झन्डा पनि थिए। प्रयोग गर्नै नपाई टोली बाहिरियो।

# मन पर्ने फुटबल खेलाडी ?
राउल गोन्जालेज।

# के–के खेल्नुहुन्छ ?
टेबलटेनिस खेल्थें। राष्ट्रियस्तरको खेलका लागि छनोट पनि भएकी थिएँ। जाँच नजिकिएकाले स्कुलले छुट्टी दिएन। त्यसपछि छाडिदिएँ।
– धनबहादुर खड्का / शुक्रबार साप्ताहिक बाट साभार गरिएको

SUBSCRIBE 👉