जेलबाट साहसिक पलायनदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म, नाटकमा गणेशमान सिंहको कथा

गणेशमान सिंहको राजनीतिक सङ्घर्ष, जेल जीवन, साहसिक पलायन र प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसङ्ग समेटिएको नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मञ्चन हुँदैछ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र साहसलाई केन्द्रमा राखेर तयार पारिएको ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ गतेदेखि काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ। नाटक असोज १४ गतेसम्म नियमित रूपमा प्रस्तुत गरिनेछ।

गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन गरेका हुन्।

निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा सीमित नाटक होइन। यो निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो।

करिब पाँच दशक लामो नाट्य यात्रामा आफूले यस किसिमको यथार्थपरक प्रस्तुति पहिलोपटक गर्न लागेको मल्लले बताएका छन्। बिम्ब र प्रतीकसँग खेल्ने आफ्नो नियमित नाट्य शैलीभन्दा यो प्रस्तुति फरक रहेको उल्लेख गर्दै उनले गणेशमान सिंहको व्यक्तित्वको अर्को आयाम दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताएका छन्।

नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको सङ्घर्षलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। भद्रगोल जेलमा बिताएको जीवनदेखि ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनसम्मका घटनालाई रङ्गमञ्चमा उतारिएको छ।

प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डको जोखिमसमेत बेवास्ता गर्दै निरन्तर सङ्घर्ष गरेका गणेशमान सिंहको साहस, त्याग र अडिग निष्ठालाई नाटकले जीवन्त बनाउने प्रयास गरेको छ।

त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक प्रसङ्ग नाटकको अर्को महत्त्वपूर्ण पक्ष हो। व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश, जनता, अधिकार र स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक दर्शनलाई पनि नाटकले उजागर गर्नेछ।

‘वीर गणेशमान’ प्रस्तुत गरिरहेको सर्वनाम नेपाली रङ्गमञ्चमा विगत ४५ वर्षदेखि सक्रिय संस्था हो। वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनामले नेपाली नाट्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध नाट्य कलामार्फत आवाज उठाएको सर्वनामले सामाजिक तथा राजनीतिक चेतना फैलाउन पनि भूमिका खेल्दै आएको छ। नेपालमा संस्थागत रूपमा ‘सडक नाटक’ सुरु गर्ने श्रेयसमेत सर्वनामलाई दिइन्छ।

सरकारी वा बाह्य निकायको अनुदानमा निर्भर नभई आफ्नै श्रम र स्रोतबाट नाट्यगृह निर्माण गरेको सर्वनाम नेपाली रङ्गमञ्चमा आत्मनिर्भरता र संस्थागत निरन्तरताको उदाहरणका रूपमा स्थापित छ।

संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्नुका साथै नयाँ पुस्ताका रङ्गकर्मीलाई प्रोत्साहन गर्न नियमित नाटक मञ्चन, कार्यशाला तथा नाट्य प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

‘वीर गणेशमान’ मार्फत नेपाली इतिहासको एउटा महत्त्वपूर्ण अध्याय नयाँ पुस्तासम्म पुर्‍याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने प्रयास गरिएको सर्वनामले जनाएको छ।