हिन्दुवादी गीत गाउन नमानेपछि गायिका अञ्जु पन्तको चर्को आलोचना


anju-pantaग्ल्यामर नेपाल, काठमाडौं । कलाकारलाई राष्ट्रको गहना मानिन्छ। एउटा राष्ट्रमा भिन्न–भिन्न जात, धर्म, लिङ्ग र सम्प्रदायका मानिस बस्छन्। यसअर्थमा कलाकार ती सबै समूदायका व्यक्तिहरुको गहना हुन्। त्यसैले कलाकारले सबैको आस्था र विश्वासलाई सम्मान गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। तर अन्तरिम संविधानले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको नेपालकी एक चर्चित गायिकाले कुनै धर्मविशेषको गीत भएकै कारण गाउन इन्कार गरेकी छन्। त्यसरी कलालाई धर्मसँग जोड्ने गायिका हुन्, अञ्जु पन्त। केही समय अघि मात्र क्रिस्चियन धर्म अंगालेकी अञ्जुले हिन्दुवादी गीत गाउन अस्वीकार गरेकी हुन्। गीतको बोल थियो, ‘दुर्गामाताको आशिर्वादले सोचे झैँ पुग्दै जाओस्…”। सहदेव कोइरालाको शब्द/संगीत रहेको यो गीत स्टुडियो पुगेरै उनले वहिष्कार गरेकी हुन्। यो खबर सार्वजनिक भएसँगै फेसबुक, ट्वीट्रजस्ता सामाजिक सञ्जालमा अञ्जुको चर्को आलोचना सुरु भएको छ। अधिकांशले उनको यो हर्कतले हिन्दु धर्मावलम्बीको आस्थामाथि चोट पुर्‍याएको आरोप लगाएका छन्।

उसो त मन नलागेको गीत गाउने अधिकार हरेक कलाकारलाई छ तर अञ्जुले धार्मिक आस्था जोडिएको गीत गाउन नमानेपछि विवाद भएको हो। त्यसमाथि उनको ‘मेरो जीवन नष्ट गरेर गीत गाउन सक्दिनँ’ भन्ने अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गरेको छ। “कुनै खानेकुरा खाँदा मलाई एलर्जी हुन्छ, त्यो खानाले मेरो स्वास्थ्य बिग्रन्छ भने मैले त्यो खाना खान्नँ भन्न पाउँछु नि,” उनले पहिलो पोस्ट डटकमसँग भनेकी छिन्, “मलाई जेकुराले हानी गर्छ त्यो कुरा गर्दिनँ।”

अञ्जुले बुझ्नु पर्ने कुरा के हो भने उनका फ्यानमध्ये अधिकांश हिन्दु धर्मावलम्बी छन्। तर यस्ता कार्यले उनीप्रतिको श्रौता/दर्शकको सम्मान घटाउँछ। फेसबुक र ट्वीटरमा व्यक्त गरिएका विचारले त्यही देखाएको छ। “आज अञ्जु पन्तको समाचार पढेर साह्रै दुख लाग्यो। आजदेखि उनका कुनै गीत नसुन्ने निधो गरियो,” विनोद अधिकारीले ट्वीट गरेका छन्। विनोद त एक प्रतिनिधि पात्र हुन्। घमन्डी र अव्यावसायिक चरित्रका कारण ओझेलमा पर्दै गएकी अञ्जुलाई यो विवादले उनको सांगीतिक करिअरमा थप घाटा पुर्‍याउने निश्चित छ।

SUBSCRIBE 👉