वृत्तचित्रमा तेस्रोलिंगी अञ्जलीको संघर्ष


Anjali-Movieग्ल्यामर नेपाल, काठमाडौं । नुवाकोटको विकट गाउँ बाउलेमा नविन वाइबाका रुपमा जन्मिएका एक युवक कसरी अञ्जली बनिन् भन्ने कथा समेटिएको वृत्तचित्र ‘अञ्जलीः एउटा पृथक यात्रा’ आगामी असोज २ गते राजधानीको कुमारी सिनेमा हलमा प्रिमियर हुने भएको छ। मोहन राईले निर्देशन गरेको वृत्तचित्रले गाउँमा रहेका नविन शहरमा आएपछि अञ्जली बनेको यथार्थलाई चित्रण गरेको छ ।

‘आफू जे हो नभएर अथवा अर्कै भएर वर्षौंसम्म बाँच्दा कस्तो हुन्छ ? अनि वर्षाैंको प्रतिक्षा पछि ‘म यो हुँ भनेर थाहा पाउँदा कस्तो अनुभूत हुन्छ ?’ अनि समाजले सहजै स्वीकार नगर्ने पहिचान बोकेर बाँच्न कति कठिन हुन्छ ? भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ,’निर्देशक राईले राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने,‘ डकुमेन्ट्रीले एउटा तेस्रो लिङ्गीपात्र मार्फत तेस्रो लिङ्गीहरुको संसारभित्र छिर्ने जमर्काे गरेको छ, उनीहरुले भोग्ने विभेद, लाञ्छना, उनीहरुले गर्नुपर्ने संघर्ष र उनीहरुको भविष्यप्रतिको आशालाई पनि उजागर गरिएको छ ।’

मिडल वे फिल्मस्को व्यानरमा बनेको ५० मिनेटको डकुमेन्ट्रीमा रमेश धमलाको छायांकन र अरुण शर्मा तथा अञ्जय खड्काको सम्पादन रहेको छ । मोहनले यसअघि ‘सखी’, ‘कचहरी क्याम्प’ लगायत एकदर्जन डकुमेन्ट्री निर्माण तथा निर्देशन गरिसकेका छन् ।

कार्यक्रममा अञ्जलीले आफुले घरमा छोरा हुँदा माया पाए पनि छोरीको पहिचान पाएपछि त्यो पनि गुमाएको गुनासो गरिन् । ‘मेरो आमा त हुनुहुन्न, तर बुवाले मेरो अस्तीत्वलाई स्वीकार गर्नुभएन्, चारजना दाजुमध्ये एकसँग मात्र अहिले मेरो सम्पर्क हुन्छ ।’ अञ्जलीले भनिन् ।

SUBSCRIBE 👉