पलेँटीमा कुन्तीको लोक आधुनिक गीत


kunti-moktanग्ल्यामर नेपाल, काठमाडौं । पलेँटी उत्सवको हालै सम्पन्न श्रृंखलामा लोकप्रिय गायिका कुन्ती मोक्तान प्रस्तुत भईन्। तीन वर्षदेखि वार्षिक रुपले आयोजना हुँदै आएको यो उत्सव गत वर्ष मात्र दिवंगत भएका सदावहार गायक एवं यस अभियानका पहिलो प्रस्तोता स्व. फत्तेमानको सम्झना गरेर सुरु भएको थियो। हालसम्म सार्वजनिक नभएको उनको गीत ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ’ सुनाएर आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठले कार्यक्रम थालनीको घोषणा गरेका थिए। पलेँटीकै अर्का प्रतिभा मञ्जुलको रचना र पलेँटीका संयोजक आभासको संगीतमा तयार भएको यो हृदयस्पर्शी गीत जावलाखेलस्थित डिएभी स्कुलको अडिटोरियममा बज्दा फत्तेमानका श्रोता भावुक भएका थिए।

कुन्तीले ‘डालीडालीमा हो डालीडालीमा, फुलिरहूँ लाग्छ नि दिलको बारीमा’ गाएर सुरु गरेदेखि नै दर्शकमा उत्साह फैलिएको थियो। त्यसपछि उनको नेपाल आगमनलगत्तै चर्चित बनेको सर्वकालीक लोकप्रिय ‘कहिलेकाहीँ मलाई पनि हेरिदेऊ है फर्किएर’ गुञ्जिएको थियो। शास्त्रीय आधारमा गाइएको यो गीत ८० को दशकताका नेपाली जिब्रोमा स्वाद बसाउन सफलमध्येको मानिन्छ। त्यसपछि लगातार ‘आजदेखि’, ‘खुट्टा तान्दै गर’ र ‘भुइँचालो’ सुनाइएकी थिइन्। अर्को चर्चित ‘चोली राम्रो पाल्पाली ढाकाको’ पछि उनले फेरि उही ८० कै दशकतिर दर्शकलाई फर्काइन् र सुनाइन् ‘तिम्रो मायाले मलाई डो¥याई ल्यायो’।

‘सुनकै भाउ छ सुन्तला भारीको’ देखि ‘गोठालो जाँदा’ र ‘भन्छन् कोही जीन्दगी यो’ सम्म पुग्दा लोकलयमा झुम्न थालेका दर्शकमा उत्साहको लहर फैलिन थालिसकेको थियो। लगत्तै श्रवण मुकारुङले लेखेका अर्को सर्वकालीक हिट ‘माथिमाथि सैलुङे’ सम्म पुग्दा कुन्तीले दर्शकबाट पनि साथ पाउन थालिसकेकी थिइन् ।

कार्यक्रममा कुन्तीका संगीतकार पति शिलाबहादुर मोक्तानले पनि आफूलाई प्रस्तुत गरेका थिए । कुनै समय उनकै संगीतको हिट गीत ‘बदनाम नै ग¥यौ तिमीले सौन्दर्यको अभिमानले’ सुनाउँदा बेग्लै स्वादले दर्शक रमाएका थिए। ‘फैलियो माया दुबो सरी’ गाएपछि कुन्तीले उनलाई कार्यक्रममा साथ दिने वाद्यवादकको परिचय गराइन्। त्यसपछिको पालो थियो ‘इलामे सहर’। अन्तिममा भने गायनकै क्षेत्रमा परिचय बनाउँदै गरेका दुई छोरी र श्रीमान्को समेत साथमा कुन्तीले राष्ट्रिय गीत ‘गीत मेरो नेपाल’ सुनाएर कार्यक्रम टुंग्याएकी थिइन्।

पलेँटी उत्सवअन्तर्गत शनिबार अन्तिम दिनको प्रस्तुति आधुनिक नेपाली संगीतका अर्का लोकप्रिय हस्ती एवं थुप्रै सदाबहार गीतहरुका गायक दीपक खरेलको हुनेछ।

SUBSCRIBE 👉