दीपकको गीतसँगै सकियो पलेँटी उत्सव


Deepak-Kharelग्ल्यामर नेपाल, काठमाडौं । पुराना गायक दीपक खरेलको सांगीतिक प्रस्तुतिसँगै पलेँटी उत्सवको श्रृंखला सकिएको छ । संगीतका निम्ति कहिल्यै कसैलाई गुरु नथापेका दीपकले हालै जीवनकै सबैभन्दा महत्वपूर्ण कन्सर्टको सुरुवात गुरुबन्दनाबाट गरे ।

आधुनिक नेपाली संगीतलाई थुप्रै सदाबहार गीत दिएका लोकप्रिय गायक दिपकले पहिलोपटक सयौं दर्शकका माझ एकल साँझ प्रस्तुत गर्दा पटक–पटक श्रोतालाई धन्यवाद दिए । २०३४ सालमा साथीभाई माझ गुनगुनाइरहने शंकरदेव क्याम्पसको बीकम अन्तिम वर्षका यी विद्यार्थीले गायकका रुपमा यहाँसम्मको यात्रा अघि बढ्ला भन्ने कल्पना पनि गरेका थिएनन् ।

उनी कक्षामै टेबल ठटाएर मुकेश र तलत अजिजका हिन्दी गीतहरु सुनाउथे । रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि उनले द्वारिकालाल जोशीको गीत ‘मैले रचेका गीतहरु तिमीलाई भनेर नसम्झ’ रेकर्ड गराए ।

पहिलो गीतले खासै चर्चा नपाइरहेको बेला २०३५ सालमा शम्भूजित बाँस्कोटाको शब्द र संगीतमा रहेको ‘तिम्रो त्यो हँसिलो मुहारको, झझल्को जब आउँदा’ बोलको गीत गाएपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन ।

यसपछिका दीपकले गाएका ‘प्रतिक्षा गर मेरी मायालु’, ‘बादल बनाइ देऊ’, ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो हर प्रश्नको जवाफ’ र ‘यो कर्मभूमिको आँगनमा’लगायतका चर्चित गीत आफ्नो खातामा लेखाए । जुन गीत उनले पलेँटीमा सुनाइरहँदा उपस्थित दर्शक मन्त्रमुग्ध बने ।

SUBSCRIBE 👉