मिस वर्ल्डमा झ्याम्टा बजाउँदै सुविन


subin-limbu-gopal-sundar-lal-kakshapati-salman-latif-rawnग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी डिसेम्बर १४ मा बेलायतको लण्डनमा हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन जान लागेकी ‘मिस नेपाल २०१४’ सुविन लिम्बुले दर्शक तथा अन्य प्रतियोगीहरुमाझ सांस्कृतिक बाजा ‘झ्याम्टा’ बजाउने भएकी छन् । पाँच महिना अघि राजधानीमा सम्पन्न ‘मिस नेपाल(वर्ल्ड)’ को शीर्ष ताज चुमेकी धराने युवती लिम्बुले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन प्रतिनिधिमूलक बाजा ‘झ्याम्टा’ बजाउन लागेकी हुन् ।

‘हाम्रो देशको पश्चिमी भूभागमा रहने विभिन्न जातजातिको संस्कृतिलाई समावेशी रुपमा एकै स्थानमा समेट्नका लागि प्रतिनिधिमूलक रुपमा झ्याम्टालाई बजाउन लागेकी हुँ,’ मिस नेपाल आयोजक हिड्न ट्रेजरले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सुविनले भनिन्,‘हामी नेपाली पनि अन्य मुलुकका मान्छे भन्दा कम छैनौं भन्ने कुराको उदाहरण दिन चाहन्छु ।’ ‘मिस वर्ल्ड’को ‘ब्युटी विथ ए प्रपोज’ अवार्डका लागि सुविनले एक हप्तासम्म बझाङ, दैलेख र शिवकोटमा गई प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग परम्परागत शिक्षा प्रणालीको सट्टा ल्यापटप र एनिमेशन जस्ता एकीकृत प्रविधिका मद्धतबाट शिक्षालाई रमाइलो र सहभागितामूलक बनाउन सकिन्छ भन्ने बारेमा चेतना जगाउनेछिन् ।

Sonie-rajbhandari-subin-limbu-prinsha-shresthja (1)पत्रकार सम्मेलनमा नोभेम्बर ११ मा जापानको टोकियोमा हुन लागेको ‘मिस इन्टरनेशनल’मा सहभागिता जनाउन जान लागेकी ‘मिस नेपाल इन्टरनेशनल’ सोनी राजभण्डारीले नेपालीले गर्व गर्न लायक काम गरेर स्वदेश फर्कने बताईन् । ‘नेपाली महिलाले चाहे भने जे पनि गर्न सक्छन् भन्ने उदाहरण म जापानमा पेश गर्न चाहन्छु,’सोनीले भनिन्,‘त्यसका लागि मैले धेरै मेहनत र संघर्ष गरेकी छु ।’ सोनी जापानमा रहेको सुन्दरता सम्बन्धी विश्वविद्यालयमा सुन्दरताबारे बुझ्नका लागि चाँडै नै त्यहाँ जाँदैछिन् ।

यस्तै फिलिपिन्सको मनिलामा नोभेम्बर २९ मा हुन लागेको ‘मिस अर्थ’मा सहभागिता जनाउन लागेकी ‘मिस नेपाल अर्थ’ प्रिन्सा श्रेष्ठले देशका लागि आर्थिक फाइदा हुने काम गरेर आउने बताईन् । ‘अवार्ड पाउछु भन्ने आशा छ, तर पाइन भने पनि अन्य मुलुकका साथीहरुलाई नेपाल घुम्न निम्तो दिनेछु,’उनले भनिन् । इको टुरिजमलाई प्रवद्र्धन गरिने यो प्रतियोगिताका लागि प्रिन्साले लुक्ला, नाम्चे र सगरमाथा आधार शिविरमा पुगेर आुल खेती गर्ने किसानसँगको अन्तरक्रियाको भिडियो तयार पारेकी छन् ।

हिड्न ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले अघिल्लो वर्षको मिस वल्र्डमा नेपालकी इशानी श्रेष्ठले प्राप्त गरेको सफलताको गतिमा रोकावट नआउनेमा विश्वास व्यक्त गरे ।

SUBSCRIBE 👉