छ महिना भद्रगोल, छ महिना लण्डन


Belase-Subashग्ल्यामर नेपाल, काठमाडौं ।
टेलिभिजनमा काम गर्ने कलाकार १२ महिनै अभिनय गर्न चाहन्छन् । आम दर्शकको अगाडि टेलिभिजनको स्क्रिनमा देखिन चाहन्छन् । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’का एक पात्र भने ६ महिना भद्रगोलमा देखिन्छन् अनि बाँकी ६ महिना लण्डनमा बस्छन् । ती पात्र हुन् सुवास कार्की अर्थात टेलिश्रृङ्खलाको ‘बेलासे’ । जसको थेगो छ, ‘गोजीमा २ रुपियाँ छैन । खै गर्ने कि, नगर्ने ? म त केही सोच्नै सक्दिनँ ।’

राजधानीको चण्डोल बस्ने ३६ वर्षीय सुवास हालका दिनमा लण्डनमा छन् । टेलिभिजनमा बेलासे पात्रमा देखिएका यी सुवास ‘भद्रगोल’का निर्माता पनि हुन् । नेपालमा आउँदा छ महिना उनी ‘भद्रगोल’लाई समय दिन्छन् । ‘म हप्तामा दुई दिन भद्रगोललाई समय दिन्छु र बाँकी दिन अन्य काममा व्यस्त हुन्छु,’सुवासले भने,‘नेपालमा सामाजिक काम गर्ने भएकाले पनि अन्य क्षेत्रलाई समय दिने गरेको छु ।’

Subash-Karkiसुवास परिवारका साथ लण्डनमा बस्छन् । उनको नेपालमा ट्राभल एण्ड टुर्स, ब्रिटिस सेटलमेन्ट सर्भिसमा आबद्धता छ भने उनी काठमाडौं जिल्ला ब्याण्डमिन्टन संघमा पनि संलग्न छन् । उनले आफुले अभिनय गर्न सक्छु भन्ने कहिल्यै सोचेका रहेनछन् । ‘मलाई जीवनमा कहिले पनि एक्टिङ गरेर आम दर्शकमाझ चिनिने मौका पाउँछु भन्ने लागेको थिएन, तर अभिनयमा छिरिसकेपछि नशा झैं लाग्यो ।’ सुवासले भने । लण्डनमा रहँदा पनि स्थानीय नेपालीहरुले आयोजना गर्ने कार्यक्रममा उनले प्रहसन देखाउँदा पनि रहेछन् ।

सुवास श्रीमती मीनाकुमारी कठायत र छोरा सुविज्ञका साथ लण्डनमा बस्छन् । श्रीमति लन्डनमा नर्स छिन् भने छोरा सुविज्ञ आमासँगै बस्छन् । छोराकै नामबाट खोलेको सुवि फिल्मस् मार्फत उनले ‘भद्रगोल’ बनाएका हुन् ।

SUBSCRIBE 👉