ग्ल्यामर नेपाल, काठमाडौं ।
लामो समयदेखि राष्ट्रिय सभागृहको सभाकक्षमा भव्य रुपले आयोजना हुँदै आईरहेको काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव(किम्फ)को १२ औं संस्करण कमलपोखरीस्थित कुमारी सिनेमा हलमा हुने भएको छ । केही साता अघि राजधानीमा सम्पन्न सार्क शिखर सम्मेलन स्थलका रुपमा सरकारले सभागृहलाई नयाँ स्वरुपमा परिवर्तन गरेर त्यसलाई प्रयोग गरेपछि किम्फले आफ्नो गन्तव्यलाई कुमारी हलमा पु¥याएको हो ।
किम्फ आयोजक हिमाल एसोसिएसनका अध्यक्ष बसन्त थापाले आफुहरुले सभागृहमै कार्यक्रम गर्नका लागि प्रयास गरे पनि त्यसमा असफल भएको स्वीकार गरे । ‘सार्क सकिएपछि सभागृह व्यवस्थापनको जिम्मा कसले लिने भनेर काठमाडौं महानगरपालिका र अन्य पक्षबीच विवाद भइरहेको छ, सभागृहलाई अब अन्तर्राष्ट्रिय किसिमका कार्यक्रम मात्र गर्न दिइने योजना बनाइएको रहेछ,’महोत्सवबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने,‘हामीले पनि आफ्नो पृष्ठभूमिलाई प्रस्तुत गर्दा पनि सम्बन्धित पक्षले त्यहाँ कार्यक्रम गर्न दिएनन्, त्यसैले कुमारी हलमा यसपटक महोत्सव गर्दैछौं ।’ महोत्सव बिहीबारबाट शुरु हुँदैछ ।
आयोजकका अनुसार यसपटक महोत्सवमा २० देशका ७० फिल्मको सहभागिता हुँदैछ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा, गैर प्रतिष्पर्धी र नेपाल पानोरामा गरी तीन विधामा बाडिने महोत्सवमा जेनेरेसन ग्रिन नामक छोटो फिल्मको प्रतिष्पर्धा पनि हुनेछ ।
यसपटकको महोत्सवमा ब्रिटिस फोटोग्राफर हेनरी इडोन, अमेरिकी आरोही तथा फिल्म मेकर डेभिड ब्रेसर्स र इटालियन फिल्ममेकर पाओला नेसी निर्णायकको रुपमा रहनेछन् । प्रतियोगितामा उत्कृष्ठ हुने फिल्मले एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछ ।
