हिन्दी एल्बम ल्याउँदै गीतकार बसन्त


Basanta-Chaudhariग्ल्यामर नेपाल, काठमाडौं ।
उद्योगी तथा गीतकार बसन्तकुमार चौधरीले छैटौं एल्बमको रुपमा श्रोतामाझ हिन्दी गीतको अडियो एल्बम ल्याउने भएका छन् । माया बल्झेछ, तिम्रो नाममा, रिफेल्कसन अफ लभ, वन्ली लभ र लभ फरेवरजस्ता एलबम बजारमा ल्याईसकेका चौधरीले बलिउडका चर्चित गायकगायिकालाई समेट्दै मोमेन्ट्स अफ लभ नामक एल्बम तयार पारेर सांगीतिक बजारमा ल्याउन लागेका छन् । विगतका एल्बममा झैं नयाँ एल्बममा पनि उनले माया र प्रेमका कुरा पस्केका छन् ।

सिजी इन्टरटेमेन्टको प्रस्तुति तथा भारतको प्रसिद्ध टाइम्स म्युजिकले उत्पादन र अन्तर्राष्ट्रियरुपमै वितरण तथा प्रवद्र्धनको जिम्मा लिएको एल्बममा बलिउडका ख्यातिप्राप्त गायक गायिकाहरु रुपकुमार राठौर, निती मोहन, सान, जावेद अली, मोहित चौहान, पलक मुचाल र श्रेया घोषालले स्वर दिएका छन् भने बलिउडकै प्रतिभाशाली नव संगीतकार शुशांक शंकरले संगीत दिएका छन् । भारतका विभिन्न शहरमा पुगिसकेको यो पप एल्बममा गायिका घोषालले दुई सेमी क्लासिक गीत गाएकी छिन्।

‘एउटा नेपालीको रचना अन्तर्राष्ट्रिय हिसाबमा ठुलो बजारमा जाओस् अनि एउटा नेपाली हिन्दीमा गीत रचेर अन्तर्राष्ट्रियरुपमा जानोसक्दोरहेछ भनेर प्रयोग गरौं भनेर हिन्दी रचनामा एल्बम तयार पारेको हुँ,’ गीतकार चौधरीले भने,‘फेरि संगीतको कुनै भाषा पनि त हुँदैन् । संगीत आफैंमा एउटा विश्वव्यापी भाषा हो । चाहे त्यो हिन्दीमा होस्, चाहे मराठीमा । चाहे नेपालीमा होस्, चाहे अंग्रेजीमा, त्यसले खास अर्थ राख्दैन ।’ एल्बमका लागि घोषालले गाएको गीतमाथि म्युजिक भिडियो बनेको छ भने युट्युबका लागि अरु गीतको पनि भिडियो बनाइँदै गरेको चौधरीले बताए । उनका अनुसार यसको रेकर्डिङदेखि अन्य प्राविधिक कार्य सबै मुम्बईमै गरिएको छ भने म्युजिक भिडियो पनि उतैबाट बनाइएको छ । यसका लागि वसन्तले मुम्बईका विक्रम सिंहलाई संयोजकका रुपमा जिम्मा दिएका छन् ।

बसन्तले आफनो पहिलो हिन्दी एल्बमका गीतहरुलाई विश्वव्यापी बनाउन यसका गीतहरु युट्युबको जुक बक्सका साथै आइट्युन, टाइम्स म्युजिक, नोकिया, गाना डट कमजस्ता अनलाइन प्लेटफर्महरुमा राखेका छन् । चौधरीका अनुसार यसको पहिलो विमोचन भारतको मुम्बईमा हुनेछ भने दोस्रो विमोचन कार्यक्रम सिंगापुर र अन्तमा नेपालमा हुनेछ । बलिउडका रुपकुमार राठौर र पंकज उदासलाई लिएर सुरा र सुन्दरीलाई विषय बनाई एउटा छुट्टै गजल एल्बम निकाल्ने तयारीमा समेत बसन्त छन् ।

SUBSCRIBE 👉