मनोजले ल्याए सांगीतिक मिश्रण


Rajesh-payal-rai-manoj-mahatoग्ल्यामर नेपाल, काठमाडौं ।
चितवन घर भई हाल दुबईमा बस्दै आएका नवगायक मनोज महतोले ‘मिश्रण’ नामक डेब्यु एल्बम श्रोतामाझ ल्याएका छन् । उनका आदर्श गायकका रुपमा रहेका नेपाली पाश्र्व गायनदेखि आधुनिक गायनसम्मका भर्सटायल गायक राजेशपायल राईसहित संगीतकारहरु लक्ष्मण शेष, महेश खड्का र बसन्त सापकोटाले एल्बमको सोमबार राजधानीमा संयुक्त रुपमा विमोचन गरे ।

२०५९ सालमा मैथिली गीत गाएर सांगीतिक करियर शुरु गरेका महतोले ‘जंगल लभ’, ‘मेरो मान्छे’ र ‘थुक्क साला जिन्दगी’लगायतका फिल्ममा पनि पाश्र्व गायन गरेका छन् । उनको एल्बममा ‘चोली ल्याउँछु’, ‘नक्कली रैछौ’, ‘के सोचेको’, ‘तिमी मेरो’, ‘अप्ठ्यारो बाटो’, ‘तिम्रो जवानीको’ र ‘स्वर्ग भन्दा सुन्दर’ बोलका गीत छन् । गीतमा साजन शाह, लेखु सहयात्री, कुमार विवाहित, शितल कादिम्बीनी, अर्जुन अन्यौल र बजरंग तिवारीको शब्द छ भने साजन शाह, बसन्त सापकोटा, राज सागर र मनोजकै संगीत रहेको छ ।

कार्यक्रममा मनोजले ब्रेन ट्युमरको उपचार गरेर घरैमा आराम गरिरहेका पत्रकार तथा गीतकार सूर्यचन्द्र क्षेत्रीलाई दश हजार रुपैंयाँ बराबरको आर्थिक सहयोग गरेका थिए । उनले उक्त रकम बराबरको चेक संगीतकार लक्ष्मण शेषलाई हस्तान्तरण गरेका थिए । संगीतकार बसन्त सापकोटाले मनोजलाई राम्रो गायक बन्न अझै पनि मेहनत गर्नुपर्ने सुझाव दिए भने गायक राईले मनोजको प्रगतिको कामना गरे ।

मोबाइलको रिङटोनले रोक्यो राजेशको बिहे

राजेशले आफ्नो विवाह प्रसंगमा विवाह भन्ने कुरा जुर्नु पर्ने भएकाले उक्त अवसरको आफु पर्खाईमा रहेको बताए । उनले मोबाइलको रिङटोनका कारण आफ्नो विवाह रोकिएको तर्क गर्दा कार्यक्रमका सहभागी हाँसेका थिए । ‘धेरैले मोबाइलबाटै लभ गरेर विहे गरेका छन्, तर मेरो मोबाइलबाट संयोगबस अहिलेसम्म कसैको मोबाइलमा मिसकलको रिङटोन जान पाएको छैन,’ठट्यौली पारामा उनले भने,‘मितज्यू(राजेश हमाल)को विवाह पछि मलाई विवाहको लागि नैतिक दबाब परेको छ, आशा गरौं अब चाँडै नै रिङटोन बज्ने मोबाइलकी महिला भेटिएला ।’

SUBSCRIBE 👉