ग्ल्यामर नेपाल, काठमाडौं ।
पछिल्लो समयमा सस्पेन्स थ्रिलर फ्लेबरका फिल्म बन्ने क्रम बढ्दै गएको छ । ‘आवरण’, ‘माला’, ‘द सोल सिस्टर’ पछि ‘झिग्राना’ पनि सस्पेन्स थ्रिलर फिल्मको सूचीमा परेको छ । यो फिल्म फागुन २२ बाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
गोल्डेन याक इन्टरटेन्मेन्टले निर्माण गरेको यो फिल्मका निर्देशक पासाङ लामा हुन् । फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलन गर्दै अफिसियल पोष्टर, ट्रेलर र अडियो सार्वजनिक गरेको छ । निर्देशक लामाका अनुसार फिल्मले झिग्राना गाउँमा पुग्ने एक गैर सरकारी संस्थाका कर्मचारीरुको रहस्यमय कथा प्रस्तुत गरेको छ ।
हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, दिवाकर पिया, बिना पाण्डे, शान्ती गिरी, अरुण रेग्मीको अभिनय रहेको फिल्ममा निभ प्रधान, सन्तोष शाही, पासाङ लामाको लगानी छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, इमानविक्रम शाहको संगीत र गायन र शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ ।
फिल्मको प्रमोसनका लागि निर्माण युनिटले दर्शकका लागि एक लाख रुपैंयाँ राशीको प्रतियोगिता समेत आयोजना गरेको छ । फिल्मको मुख्य गीत ‘नाचन’लाई आफ्नो शैलीमा गाएर पठाउने एक दर्शकले उक्त नगद पुरस्कार हात पार्नेछन् ।
