पाश्र्व गायनमा संघर्ष गर्दै बादल


ग्ल्यामर नेपाल, काठमाडौं ।
झापाको शनिश्चरे घर भएका नवगायक बादल लिम्बुले ‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन् । कक्षा ५ मा पढ्दादेखि नै संगीतमा झुकाव राख्ने बादलले त्यो उपाधी चुम्नका लागि धेरै कसरत गरेका थिए । ‘उपाधि जित्नका लागि मैले धेरैपटक राजधानी पनि धाउनु प¥यो,’उनले भने, ‘आफ्नो स्वरलाई माया गर्नुहुने शुभचिन्तकहरुलाई भोट माग्नका लागि पनि त्यत्तिकै दौडधुप गरे, जुन प्रयासमा मैले सफलता पनि पाएँ ।’
Badal-Limbu

उपाधिसँगै आयोजकले अढाई लाख रुपैंयाँ पुरस्कारसहित गायनको अवसर दिने आश्वासन दिए पनि अहिले त्यो सुविधाबाट उनी बञ्चित छन् । ‘आयोजक फरार भएपछि पुरस्कार रकम अहिलेसम्म पाएको छैन्’,उनी भन्छन्, ‘तर पनि म दुखी छैन्, किनभने नेपाली आइडियल बन्नु नै मेरो लागि सबैभन्दा ठुलो उपलब्धी थियो ।’

वि.स. २०६६ सालमा पुर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पनि उनले तेश्रो स्थान प्राप्त गरेपछि उषा राईको एल्बम ‘उषा’ मा ‘इश्वर सामु’ बोलको गीतमा स्वर दिए । २०६७ सालमा एसएसली पास गरेपछि गायक बन्छु भनेर राजधानी छिरेका बादलले ‘मधुरीमा नेपाल’ मा पनि केही महिना कक्षा लिएको बताए ।

पाश्र्व गायनमा स्टार बन्ने सपना बोकेका बादलले हालसम्म चारवटा फिल्ममा आफ्नो स्वर दिइसकेका छन् । फिल्म ‘पुन्टे परेड’ को ‘डुब्दै गए म’ र ‘अलविदा’ को ‘मैले जसको’ बोलको गीत उनले गाएका हुन् । यसबाहेक हाल छायांकनरत फिल्म ‘होमवर्क’ र ‘अग्नी’ मा पनि उनले स्वर दिएका छन् । आफुलाई पाश्र्व गायनको क्षेत्रमा ल्याउन संगीतकार ताराप्रकाश लिम्बुले धेरै नै सहयोग गरिरहेको उनले बताए ।

अर्काको एल्बममा स्वर दिएपनि हालसम्म आफ्नो एल्बम नल्याएका बादलले अब ‘पहिलो धोका’ एल्बम ल्याउने तयारी गरिरहेको बताए । यो एल्बमको ‘तिमीलाई फुल सम्झेर’, ‘भो माया लाउँदिन’ र ‘जिन्दगी’ बोलको गीत भने सार्वजनिक भइसकेको छ । उनलाई अभिनेत्री रेखा थापाको फिल्ममा गाउने धोको रहेछ ।

SUBSCRIBE 👉