ग्ल्यामर नेपाल, काठमाडौं ।
निर्देशक नवराज बुढाथोकीको फिल्म ‘वनफूल’को प्रदर्शनसँगै राजधानीमा सोमबारबाट पाँच दिने ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव(किफ)’ शुरु हुँदैछ । नेपाल फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपालसहित १० देशका १७ फिल्मको प्रदर्शन गरिनेछ ।
माघ २३ गतेसम्म चल्ने महोत्सवको उद्देश्य नेपाललाई फेस्टिबल हबका रुपमा विकास गर्ने रहेको संस्थाका अध्यक्ष कृष्ण मल्लले बताए । जीवनसाथी फिल्मस् र शैली थिएटरको संयुक्त व्यानरमा निमिर्त फिल्ममा पटकथा र संवाद निर्देशक बुढाथोकीकै छ भने यसको निर्माण मदन बराल र विवि बस्नेतले गरेका हुन् । फिल्ममा सुनील पोखरेल, महेश श्रेष्ठ, मन्जु देवकोटा, मदन बराल, बासुदेव खनाल, अशोक शिवाकोटी, मन्जु गिरी, शुशिला रिमाल, समन्त आचार्य, सरोज गोलेलगायतको अभिनय रहेको छ ।
महोत्सव आयोजकका अनुसार महोत्सवमा रुस र स्वीजरल्यान्डका दुई–दुई र भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे, स्लोभाकिया र डेनमार्कका एक–एक फिल्म देखाइनेछ । नेपालका तर्फबाट भने ‘डा खाते’, ‘काठमाडौं’, ‘पल’ र ‘भीमदत्त’ पनि महोत्सवमा देखाइनेछ । महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुनेछ ।