मायाले सरकार ढलाउँदै कन्काईष्ट


Nishma Ghimire Gambhir Bistaग्ल्यामर नेपाल, काठमाडौं ।
गायक कन्काईष्ट राईले पछिल्लो समय बजारमा ल्याएको तेस्रो एल्बम ‘विरासत’ मा समावेश गीत ‘तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्’ बोलको गीत अहिले चर्चामा रहेको छ। यो गीतको भिडियो अहिले विभिन्न टेलिभिजन तथा सामाजिक सञ्जालमा हिट भइरहेको छ।

राजन राईको लेखन र राजनराज सिवाकोटीको संगीत रहेको भिडियोका निर्देशक सुरजसिंह ठकुरी हुन् भने छाँयाकार शिवराम श्रेष्ठ छन्। गम्भिर बिष्ट, निश्मा घिमिरे र किशोर भण्डारीले मोड्लिङ गरेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

एल्बममा ‘तिमीले माया लाउँदा’, ‘माछीलाई उतिबेलै’, ‘एउटा जीवन’, ‘पल पल यो जिन्दगी’ र ‘इलामको डाँडैडाँडा’ गीत छन्। गीतमा राजन राई, भूपाल राई, महेन्द्र राई, रमेशबहादुर थापा र पुष्पनाथ शर्माको शब्द र राजनराज शिवाकोटी र डाक्टर किराँतले १÷१ वटा गीतको संगीत गरेका छन्। अन्य गीतमा गायककै संगीत रहेको छ।

२०५४ सालदेखी रेडियो नेपालमा भ्वाईस टेष्टमा उत्तिर्ण गर्दै गायन यात्रा सुरुवात गरेका राईले २०६० सालमा पहिलो एल्बम ‘काठमाडौको माया मंहगो’ ल्याएका थिए। त्यसपछि उनी २०६२ सालमा रेडियो नेपालद्वारा आयोजित ‘अधिराज्यव्यापी गायन प्रतियोगीता’मा पुरुषतर्फ सर्वोत्कृष्ठ भएका थिए। पहिलो एल्बम र प्रतियोगिताको सफलतापछि गायकले दोस्रो एल्बम ‘जस’ २०६३ सालमा ल्याएका थिए।

गायक राईले ‘ब्लक लिभ’, ‘सिमाला’ र ‘नाइन ओ क्लक’ मा एकल संगीत दिएका छन् । गायक राईले अहिलेसम्म करिब ५ सय गीतमा स्वर दिइसकेका छन् भने ३ सय बढी गीतमा संगीत भरिसकेका छन्।

SUBSCRIBE 👉