क्यान्सर रोगबाट पिडित गायिका थापालाई अर्की गायिका शर्मिला वर्देवाको सहयोग


काठमाडौं । क्यान्सर रोगबाट पिडित गायिका तारा थापालाई उपचारका लागि सहयोग प्राप्त हुने क्रम जारी छ। गत असार महिनामा क्यान्सर रोग लागेको पहिलो पटक पत्ता लागेपछि हालसम्म उपचाररत गायिका थापालाई बिहिबार बेलायतमा बसोबास गरिरहेकी गायिका शर्मिला वर्देवाले सहयोग स्वरूप नगद एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरिन्।अनामनगरस्थित गुञ्जन स्टुडियोमा आयोजित एक अनौपचारिक समारोहमा संगीतकार आलोकश्री तथा रंग पत्रकार कृष्ण भट्टराईको सहभागितामा गायिका वर्देवाले गायिका थापालाई उक्त रकम हस्तान्तरण गरेकी हुन्। गायिका बर्देवाले केही समयअघि बेलायतमै सांगीतिक कार्यक्रम आयोजना गर्दै यो रकम संकलन गरेकी थिइन्।

Tara-Thapa

Sharmila Bardewa and Tara Thapa

गायिका वर्देवाका श्रीमान् सरोज परियारद्वारा आयोजित ‘गायिका तारा थापाको सम्मानमा आयोजित सांगीतिक साँझ’ कार्यक्रममार्फत संकलन गरिएको रकममा तामाङ समाज यूकेको अर्को एक कार्यक्रमको रकमसमेत जम्मा गरी गायिका थापालाई हस्तान्तरण गरिएको हो। सांगीतिक साँझ कार्यक्रमको क्रममा काठमाडौंबाट बेलायत पुगेका गायकद्वय मिलन लामा तथा योगेश्वर अमात्यले पनि गायिका थापाका लागि आर्थिक सहयोग गरेको गायिका बर्देवाले बताएकी छिन्। स्थानिय काठमाडौं जोनमा आयोजित समारोहमा सुजन पराजुली, रञ्जित बस्नेत तथा काठमाडौं जोनका प्रकाश प्रधानले समेत उल्लेख्य सहयोग गरेको गायिका वर्देवा बताउँछिन्। ‘केही गीत रेकर्ड गर्ने शिलशिलामा काठमाडौं आएको बेला गायिका तारा दिदीको उपचारका लागि रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ, गायिका वर्देवाले रकम हस्तान्तरण गर्ने क्रममा गायिका थापाको शिघ्र स्वास्थलाभको कामना गरेकी थिइन् ।

Tara-Thapa

Alok Shree, Sharmila Bardewa, Tara Thapa, Krishna Bhattarai

‘सय थरी गोडा एउटै चाल’, ‘कुन बेला टेक्यौ मनको संघार’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘तारी नदेउ हे माझी दाइ’ सहित लोकपि्रय लोक तथा आधुनिक गीतकी गायिका तारा थापाको गत असार २७ गते भक्तपुर क्यानसर अस्पतालमा सफलता शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि गायिका थापाले छ वटा केमो थेरापी तथा तीन सातासम्म रेडियो थेरापी लिइसकेकी छिन्। यतिबेला स्वास्थमा सुधार आइरहेको बताउँदै थापाले नेपालका अस्पतालमा उपलब्ध नभएको ‘पेट थेरापी’ गर्नका लागि (फागुन १७) गते भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने बताएकी छिन्।

Tara-Thapa

Alok Shree, Sharmila Bardewa and Tara Thapa

‘क्यान्सर भएको थाहा पाउने बित्तिकै असाध्यै निराश भएकी थिएँ, स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपाली तथा संगीतकर्मीबाट पाएको आर्थिक सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै गायिका थापाले भनिन् ‘गायिकाको रुपमा दर्शक, स्रोता तथा संगीतकर्मीको मनमा बस्न सफल भएकी रहेछु भन्ने कुराले ममा प्रसस्त आत्मबल बढेको छ।’ गायिका थापाले छ महिनापछि पुनः गीत रेकर्डिङ गर्ने अवस्थामा पुग्ने आत्मबल बढेको बताएकी छिन्। गायिका थापाले विगतमा रेडियो नेपाल तथा प्रज्ञा प्रतिष्ठानमा सेवा गरिसकेकी छिन्।

SUBSCRIBE 👉