बैंगलोरका विद्यार्थीहरु माझ नेपथ्यको कन्सर्ट हुने


चर्चित नेपाली सांगीतिक समूह “नेपथ्य” ले भारतको बैंगलोरमा कन्सर्ट गर्ने भएको छ। नेपथ्यले बैंगलोरको आरआर इन्स्टिच्युसनको मैदानमा आगामी आइतबार कन्सर्ट गर्ने लागेको हो। अमृत गुरुङको नेतृत्वमा शुक्रबार ११ जनाको टोली कन्सर्टका लागि बैगलोर जाँदै छन्।
Nepathay Amrit Gurung
बैंगलोर नेपाली विद्यार्थीका लागि उच्चशिक्षाको प्रमुख गन्तव्य हो। ‘त्यहाँ धेरै विद्यार्थी उज्ज्वल भविष्यका लागि मेहनतका साथ पढीरहनुभएको छ’, उनले भने, ‘उहाँहरूलाई मनोरञ्जन र सफल करिअरका लागि शुभकामना दिन जान लागेका हौं।’

गत अगस्टमा दोहामा कन्सर्ट गरेपछि केही महिना नेपथ्यले सांगीतिक यात्राबाट विश्राम लिएको थियो। यसबीचमा नेपथ्यले नयाँ एल्बमको तयारी गरेको छ। नयाँ एल्बमका लागि रेकर्डिङ सकिइसकेको र चाँडै नै श्रोतामाझ आउने अमृतले बताएका छन्।

‘मुड चल्यो भने बैंगलोरमा नयाँ एल्बमका पनि गीत सुनाउँछौं’, अमृतले भने, ‘त्योबाहेक हाम्रा अहिलेसम्मका लोकप्रिय गीत नै श्रोताले सुन्नुहुनेछ।’ दुई घन्टाको समयको कन्सर्टमा ‘रेसम, छेक्यो छेक्यो, तालको पानी, जोगले हुन्छ भेट’ जस्ता नयाँ पुराना चर्चित गीतहरु नेपथ्यले कन्सर्ट मा प्रस्तुत गर्ने छन्। भारतका करिब आधा दर्जन स्थानमा कन्सर्ट गरिसकेको नेपथ्यको दक्षिण भारतमा पहिलो कन्सर्ट भएको उनले बताए।

बैंगलोर प्रस्तुतिको एक सातापछि नेपालगन्ज मेडिकल कलेजमा नेपथ्यको कन्सर्ट आयोजना हुने भएको छ। त्यहाँ कार्यरत चिकित्सकहरुलाई मनोरंजन गराऊनका लागि कन्सर्ट आयोजना हुन लागेको हो।

SUBSCRIBE 👉