काठमाडौं । सरकार, राजनीति र विद्यार्थीको सम्बन्धलाई प्रस्तुत गर्ने फिल्म ‘द कलेज’ निर्माण गरिएको छ । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्मका निर्माता तथा निर्देशक दीपक लामाका अनुसार सरकारी निकायको उदासिनता र विद्यार्थीहरुको कर्तव्यलाई फिल्मले औल्याएको छ ।
‘फिल्ममा गलत राजनीतिक परिपाटीको सिकार बन्नुपर्ने विद्यार्थीहरुको कथामा प्रेमकथासमेत मिसाइएको छ ।’ उनले भने । एक्सन–कमेडी फ्लेबरको फिल्म आउँदो जेठ अन्तिम साता रिलिज गर्ने तयारी भइरहेको छ । दीपक एन्ड किस्मत फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा रोशनी ब्लोन लामा, रायन थिङ, श्याम रुम्बा, रुपा लामा, गोपाल मोक्तान, राजु परियार, अदिप कुलुङ राई लगायतको अभिनय रहेको छ ।
सिन्धुपाल्चोक, पोखरा, त्रिशूली, काठमाडौं लगायतका स्थानमा छायांकन गरिएको फिल्ममा उदय राजको पटकथा, शंकर महर्जनको द्वन्द्व, अजय स्याङतानको नृत्य, केशव कोइरालाको छायांकन रहेको छ । फिल्मका सह–निर्माता श्री लामा हुन् ।