फिल्म वितरणको लागि नयाँ कम्पनीको स्थापना


Pop-Corn-Pictures- (2)ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सिनेमाको वितरण प्रणाली अत्यन्त कमजोर मानिन्छ। सोही कारण गुणस्तरिय चलचित्र पनि व्यावसायिक रुपमा असफल भएका छन्। वितरण प्रणालीमा रहेको यही कमजोरीलाई सुधार्ने उद्येश्य राखेर नयाँ वितरण कम्पनीको स्थापना गरिएको छ। पपकर्न पिक्चर्स प्रालिको आज राजधानीमा आयोजित एक कार्यक्रममा औपचारिक सुरुवात गरिएको हो। कम्पनीमा सिनेमा क्षेत्रमा नाम कमाएका दश निर्माता तथा निर्देशकहरु आबद्ध छन्। सफल निर्माता माधव वाग्ले, अर्जुनकुमारदेखि ‘झोले’का निर्माता टेकेन खड्का र ‘टलक जंग भर्सेज टुल्के’का निर्माता रवीन्द्रसिंह बानिँया पनि कम्पनीमा आबद्ध छन्। त्यसैगरी निर्देशकहरु निचश्ल बस्नेत, दीपेन्द्र के.खनाल, आशिफ शाह, मनोज पण्डित र प्रचण्डमान श्रेष्ठ पनि वितरण कार्यमा होमिएका छन्। त्यसैगरी, अष्लेषा इन्टरटेनमेन्टका प्रमुख विश्व गौचन पनि पपकर्नमा जोडिएका छन्।

कार्यक्रममा निर्देशक मनोजले निर्माताहरुको लगानी सुरक्षाको लागि संस्था स्थापना गरेको औल्याए। ‘वितरण प्रणाली दुरुस्त र प्रभावकारी नभएकोले राम्रा सिनेमाका निर्माताको लगानी डुबिरहेको छ,’ पण्डितले संस्था स्थापनाको महत्व स्पष्ट पार्दै भने, ‘कम्तीमा स्तरिय फिल्महरु दर्शकसम्म पुगुन र निर्माताको गोजी पनि भरियोस् भन्ने हाम्रो चाहना हो।’ उनले सबैभन्दा पहिले स्वदेशमा नेपाली फिल्मको बजार विस्तार गर्ने र विदेशमा पनि विस्तार गर्दै लैजाने बताए। ‘हामी कसैको भाग खोस्न आएको होइन्। हामी बजार विस्तारमा जोड दिन्छौं,’ उनले भने। साथै उनले आफूहरुले नाफा कमाउने उद्येश्यले कम्पनी स्थापना गरेकोले राजनीति नगर्ने पनि स्पष्ट पारे। कलाकार र प्राविधिकको श्रम शोषण गर्ने निर्माताका फिल्म आफूहरुले वितरण नगर्ने उनको भनाई छ।

कम्पनीमा आबद्ध अर्का निर्देशक प्रचण्डमानले आफूहरुले निकै गृहकार्य गरेर कम्पनी स्थापना गरेकोले नेपाली फिल्मको वितरण प्रणालीमा केही महत्वपूर्ण योगदान पुग्नेमा विश्वस्त तुलाए। सिनेमा वितरणको अन्तर्राष्ट्रिय प्रणालीलाई पनि नेपाली अनुकुल बनाएर एडप गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। कार्यक्रममा अजुर्नकुमार, माधव वाग्लेलगाएतले पनि बोलेका थिए।

पपकर्नले पहिलो पटक फागुन ९ गते रिलिज हुने फिल्म ‘झोले’को उपत्यका वितरण गर्ने कार्यक्रममा जानकारी दिइएको थियो। त्यस्तै, ‘फिट्किरी’, ‘कबड्डी’, ‘टलक जंक भर्सेज टुल्के’लगाएतका फिल्म पनि यही कम्पनीले पनि वितरण गर्दैछ। एक वर्षपछि फिल्म निर्माण नै गर्ने योजना पनि रहेको जानकारी दिइयो।

SUBSCRIBE 👉