आठ वर्षपछि ‘कन्दरा’ ब्याण्डको पुनरागमन। हेर्नुहोस् “भेडी गोठैमा…” ज्याम-अप भिडियो


पोखराको लोक प्रिय सांगीतिक समुह ‘कन्दरा’ करिव ८ वर्षपछि पुनः स्राेतामाझ आउने भएको छ। लोक पप गीतका कारण स्राेताको रोजाइमा परेको यो समुहले पुनः एक पटक लोक-पप शैलीका गीतमार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गर्न लागेको हो। यसपटक कन्दरालाई स्रोतामाझ प्रस्तुत गर्ने जिम्मा स्टेरियो रेकर्ड्सले लिएको छ। स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देशक आशिष पराजुलीका अनुसार ‘कन्दरा’ को पाँचौं एल्बम आगामी जेठको अन्तिम साता काठमाडौंमा सार्वजनिक गरिँदैछ।

kandara musical band pokharaविगतमा पाँच जना संगीतकर्मीहरु आवद्ध यो ब्याण्ड यतिबेला तीन जना संगीतकर्मीहरु सहित स्राेतामाझ आउन लागेको हो। ब्याण्डमा गायक विवेक श्रेष्ठ तथा दुई जना संगीतकर्मीहरु सुनिल थापा तथा बोधराज बज्राचार्य आवद्ध छन्। २१ वर्षअघि पोखरामा स्थापना भएको यो ब्याण्डले विगतमा थुप्रै कर्ण प्रिय गीतहरु प्रस्तुत गरिसकेको छ। ‘कन्दरा’ ब्याण्ड ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता लोक प्रिय गीतका कारण चर्चामा आइसकेको कन्दराले आफ्नो नयाँ एल्बममा वरिष्ठ साहित्यकार, गीतकार तथा नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तसंग ‘हङकङ पोखरा…’ गीत पछि पुनः एकपटक सहकार्य गरेको छ। नयाँ एल्बममा ब्याण्डले आफ्नो पुरानो गीत ‘तिमी पारी…’ लाई रिमेक गर्दैछ।

‘कन्दरा’ ले आफ्नो पहिलो एल्बम ‘चञ्चले कान्छी’ सन् १९९४ मै सार्वजनिक गरेको थियो भने दोस्रो एल्बम ‘डाँडा पारी’ सन् १९९६ मा स्राेतामाझ ल्याएको थियो। त्यसपछि सन् १९९८ मा तेस्रो एल्बम ‘हङकङ पोखरा’ सार्वजनिक गरेको कन्दराले चौथो एल्बम ‘वर्षौं पछि’ सन् २००६ मा बजारमा ल्याएर चर्चा पाएको थियो। आफूलाई मेलोडियस लोक-पप ब्याण्ड भन्न रुचाउने कन्दराले विगतमा सरुभक्त, विनोद गौचन, रमेश श्रेष्ठ जस्ता श्रष्टासंग सहकार्य गरिसकेको छ। ब्याण्डका गायक विवेक श्रेष्ठका अनुसार नयाँ एल्बममा अघिल्लो वर्ष दिवंगत भएका गीतकार विनोद गौचनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको एउटा गीत ‘चन्द्रकोटकी नानी…’ समावेश गरिंदैछ।

यसैबीच कन्दराले आफ्नो नयाँ एल्बमको नयाँ गीत ‘भेडी गोठैमा’ को ज्याम अप भर्सन यूट्युबमार्फत सार्वजनिक गरेको छ। यूट्युबमा भिडियो हेरेर दर्शकहरुबाट प्राप्त हुने प्रतिक्रिया अनुसार गीतको एरेञ्जमेन्ट तथा रेकर्डिङ गर्ने तयारी भैरहेको स्टेरियो रेकर्ड्सका पराजुलीले स्पष्ट पारेका छन्। नयाँ एल्बममा ८ गीत समावेश गरिनेछ।

‘एल्बम सार्वजनिक भए लगत्तै कन्दराले देशका प्रमुख शहरमा लाइभ कन्सर्ट गर्दैछ, पराजुली भन्छन्—’कन्दराले दसैंअघि काठमाडौंमा र्केष्ट्रासहितको एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्नेछ।’

SUBSCRIBE 👉