र्‍यापर लाउरेसँग नम्रताको ‘ताण्डव’ !


namrata-shrestha-with-laureग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समयका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ले नायिका नम्रता श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन्। ‘बधशाला’ निर्माण कम्पनी स्म्यासिङ एप्पलले आफ्नो नयाँ प्रोजेक्ट ‘ताण्डव’मा युवापुस्तामाझ लोकप्रिय यी दुई स्टारलाई अनुबन्ध गरेको हो। ‘ताण्डव’लाई ब्रिटिस नागरिक मुर्रे केरले निर्देशन गर्ने निर्माण कम्पनी स्म्यासिङले बुधबार औपचारिक कार्यक्रम गरी जानकारी दिएको छ।

एक्सनप्रधान ‘ताडण्व’मा नम्रता र लाउरेसँगै अनुप बराल, एलेन गुरुङ र विपिन कार्कीको पनि मुख्य भूमिका रहनेछ। फिल्मको छाँयाकन आउँदो फागनु १० गतेबाट सुरु हुने कार्यक्रममा जानकारी गराइएको थियो। नरेन्द्र मैनालीले काठमाडौं र भैरहवामा फिल्म खिच्ने छन्। कार्यक्रममा निर्माता मोहन डोटेलले ‘ताण्डव’ पूरानो र नयाँ धार भनिएका फिल्मको पुल बन्ने विश्वास व्यक्त गरेका छन्।namrata-and-laure

नायिका नम्रताले फिल्मको स्क्रिप्टले आफूलाई आकर्षक गरेको बताइन्। उनलाई यो फिल्ममा ‘माया’को भूमिकामा देख्न पाइने छ। यही फिल्मबाट सिने यात्रा थालनी गर्न लागेका लाउरेले आफ्नो भूमिका दमदार रहेको बताए। उनले यही फिल्मको लागि विगत तीन महिनादेखि अभिनयको प्रशिक्षण लिइरहेका छन्। प्रशिक्षणले आफ्नो भूमिकालाई अझ जीवन्त बनाउन सहयोग पुराउने उनको विश्वास छ।

कास्टिङ डाइरेक्टरसमेत रहेको फिल्मका अर्का कलाकार अनुपले अहिलेसम्म निर्माण भएका फिल्म मध्ये ‘ताण्डव’ फरक र उत्कृष्ट फिल्म बन्ने दाबी गरे। उनले निर्देशक केरको कथा बुझाउने शैलीको पनि प्रसंशा गरेका थिए। केरले यसअघि ‘सिक सिटी’ नामक सिनेमा निर्देशन गरेका थिए। ‘ताण्डव’को स्क्रिप्ट २० औं काँटछाँट गरेर कथा बलियो बनाएको उनले जानकारी दिए।

SUBSCRIBE 👉