ग्ल्यामर नेपाल, काठमाडौं । तेस्रो राप्ती म्युजिक अवार्डमा सुमग संगीततर्फ नरेन्द्र प्यासी र रीमा गुरुङ होडा उत्कृष्ट गायक / गायिकाको अवार्ड जित्न सफल भएका छन्। आइतबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा प्यासीले ‘म तिम्रो मान्छे’ र रीमाले ‘तिमी छौ र त’ बोलको गीतबाट अवार्ड जितेका हुन्। सुगम संगीततर्फ नै सर्वोत्कृष्ट संगीतकारको अवार्ड ‘बादलहर हो’बाट राजु सिंहले र सर्वोत्कृष्ट गीतकारको अवार्ड यही गीतबाट योगेन्द्रमणि दाहालले हात पारेका छन्। दाहालले ‘यात्रा–२’ एल्बमबाटै सर्वोत्कृष्ट सुगम संगीत गीतिसंग्रहको अवार्ड पनि पोल्टामा पारेका छन।
२७ विधामा प्रदान गरिएको राप्ती अवार्डमा सुगम संगीततर्फ सर्वोत्कृष्ट नवगायकको अवार्ड ‘मज्जा छुट्टै’बाट सन्तोष अधिकारी, सर्वोत्कृष्ट नवगायिकाको अवार्ड ‘किन आजबाट’बाट काव्या आचार्यले जिते। चलचित्रतर्फ सर्वोत्कृष्ट गीतकार दयाराम पाण्डे, सर्वोत्कृष्ट संगीतकार फिल्म ‘मेरो जीवन साथी’ बाटै अर्जुन पोखरेल, सर्वोत्कृष्ट चलचित्र गायकको अवार्ड फिल्म ‘रिदम’ को पागल ‘म बन्न सक्छु’बाट स्वरुपराज आचार्य, सर्वोत्कृष्ट चलचित्र गायिकाको अवार्ड ‘मायाज बार’को ‘कुन दिनमा’बाट दुर्गा परियारले हात पारेका छन्। लोक दोहोरीतर्फ सर्वोत्कृष्ट शब्दको अवार्ड ‘ए सानु’ बाट गणेश चौलागाई, सर्वोत्कृष्ट लोकदोहोरी भाकाको अवार्ड कस्तुप पन्त, सर्वोत्कृष्ट लोकदोहारी गायकको अवार्ड विरही कार्की, गायिकाको अवार्ड देवी घर्ती, सर्वोत्कृष्ट लोकदोहोरी नवगायकको अवार्ड करण तामाङ र नवगायिकाको अवार्ड सरिता थापाको पोल्टामा परेको छ।
यस्तै, सर्वोत्कृष्ट युगल गायनको अवार्ड ‘मेरो जीवनसाथी’बाट बीपी वाग्ले र रजिना रिमालले प्राप्त गरे। गीतकार कृष्णहरि बराललाई ‘पागल म बन्न सक्छु’गीतबाट जुरी अवार्ड प्रदान गरियो। यस्तै, मोडलिङतर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड गजित विष्टले ‘बबार्द भएँ’ बाट र महिला मोडलको अवार्ड झरना थापाले ‘के बनायो’गीतको भिडियोबाट प्राप्त गरिन्। म्युजिक भिडियो निर्देशकको अवार्ड प्रदीप निरौलालाई प्रदान गरिएको छ।
अवार्डको आयोजना राप्ती समाज काठमाडौंले गरेको हो। यस अगाडि यो अवार्ड स्थानीय रुपमा हुँदै आएको थियो तर यसपटक राष्ट्रिय स्तरका कलाकार समेट्न राष्ट्रिय स्तरमा गरिएको राप्ती म्युजिक अवार्डका संयोजक सन्तोष श्रेष्ठले बताए। उनले आगामी दिनमा पनि अवार्डलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
रापती म्युजिक अवार्डका केहि तस्वीरहरु