दोलखामा प्रमोदले बनाउने भए विद्यालय


काठमाडौं । युवा पुस्ताका चर्चित गायक प्रमोद खरेलले दोलखास्थित सुन्दरावतीमा भूकम्पका कारण ध्वस्त भएको सरस्वती प्राथमिक विद्यालयको भवनलाई पुनःनिर्माण गरिदिने भएका छन् । अधिकांश विपन्न र थामी समुदायको बसोवास रहेको सुन्दरावतीमा भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।

विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र कन्सर्ट गरेर उठेको रकमले विद्यालय बनाउन लागेको गायक खरेलले बताए । उनका अनुसार विद्यालयको पुनःनिर्माणकै लागि मेची अभियान धुलावारीको सहयोगमा हाँस्य कलाकार जितु नेपालसँग मिलेर उनले झापामा कन्सर्ट गरेका थिए । जसबाट उठेको तीन लाख रुपैँया यही विद्यालयको निर्माणमा खर्च गरिँदैछ ।
Pramod Kharelत्यस्तै टेक्सासमा रहेका भूटानी शरणार्थी, अमेरिकाका कुमार गुरुङ, लन्डन र अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत उक्त अभियानका लागि सहयोग गरेका छन् । ‘निमुखा र विपन्न वर्गका विद्यार्थीहरु शिक्षाबाट बञ्चित नहोउन् भनेर विद्यालय बनाइदिने अभियानमा जुटेको हुँ,’ प्रमोदले भने,‘भूकम्पले स्कुले खोस्यो, तर, शिक्षा खोसिनु हुन्न ।’

४५ दिनभित्र विद्यालय बनाइसक्ने लक्ष्य रहेको प्रमोदले जानकारी दिए । विद्यालय निर्माणका लागि अनुमानित बजेट १० लाख राखिएको उनले बताए । प्रमोदले यसअघि इ प्लानेटसँगको सहकार्यमा काभ्रेमा ५० घर निर्माण गरिदिएका थिए भने गोरखामा एक विद्यालय निर्माण गरेका थिए । काठमाण्डौंको धापाखेलमा पनि उनकै भुमिकामा भूकम्पपीडित परिवारका लागि घर बनाइएको थियो ।

SUBSCRIBE 👉