मिका सिंह संग हनी सिंह पनि आउन सक्ने


mika-singhग्ल्यामर नेपाल, काठमाडौँ। ढिन्का चिका, सुबह होने नादे, गन्दी बात, तु मेरे अगल बगल लगायतका हिट गीतहरुका गायक मिका सिंह आइतबार काठमाडौंमा कन्सर्ट गर्न आउँदै छन्। आयोजक मुनलाइटस् रेकर्डस्ले जनाए अनुसार आज गायक सिंहले काठमाडौंको सानो गौचरणको ग्राउण्डमा करिब डेढ घण्टा दर्शकलाई प्रत्यक्ष गीत सुनाउने छन्। गायक सिंहका सहयोगी तथा म्यानेजरहरु काठमाडौं आइसकेका छन्। उनका एक म्यानेजरका अनुसार गायक सिंहका साथ दुई जना गायिकाहरु पनि आउने छन्। जसमा एकजना स्टेजमा चर्चित गायिका हुनेछिन् भने अर्की बलिउडको पाश्र्व गायनमा नाम चलेकी गायिका हुनेछिन्। ती म्यानेजरले बताए अनुसार मिकाले आफ्ना प्राय कन्सर्टहरुमा सरप्राइज भन्दै एकजना चर्चित गायक तथा गायिकालाई आफ्नो साथ प्रस्तुत गर्ने गरेका छन्। हालै एक कन्सर्टमा उनले अहिलेका चर्चित र्याप गायक हनी सिंहलाई सरप्राइजका रुपमा मञ्चमा ल्याएका थिए।

ती म्यानेजरका अनुसार दुबईबाट दिल्ली हुँदै तीन बजे तिर काठमाडौंमा ल्याण्ड गर्न लागेका गायक सिंहले आफ्ना साथमा सरप्राइजका रुपमा कसलाई ल्याउने हुन ? भन्ने कौतुकलता आफुलाई समेत भएको बताए। दुई गायिका भनिए पनि एकजना गायिका र एकजना गायक पनि हुन सक्ने संभावनालाई उनले नकारेनन्। यदि त्यसो हो भने मिका सिंहका साथ उनीसंग राम्रोे सम्बन्ध भएका र्याप गायक हनी सिंह आउलान् त ? ती म्यानेजरले भने यसै भन्न सकिन्न।

मुनलाइट रेकर्डस्का चन्द्रप्रकाश शर्माका अनुसार टिकट बिक्रिमा विद्यार्थी परिचय पत्र देखाइएको खण्डमा ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइदैछ। जस अनुसार हाल एक हजार दर तोकिएको टिकट रु. पाँच सयमा उपलब्ध गराइएको छ। गायक सिंहले केही नेपाली गीतहरु पनि आजको कन्सर्टमा गाउने तयारी गरिरहेको पनि ती म्यानेजरले बताएका छन्। गायक रामकृष्ण ढकाल, गायिका आस्था राउत, गायक आनन्द कार्कीले पनि वार्मअप गीतहरु सुनाउने उक्त कन्सर्टका लागि तीनबजेबाट गेट खोलिने आयोजकले जनाएका छन्। मञ्चमा मिका सिंह पाँचबजे आउनेछन्।

SUBSCRIBE 👉