जाडो मौसममा ओठ फुटेर सुन्दरता बिग्रने डर बाट यसरी बच्न सकिन्छ


cracked lips treatment at home for winter seasonहात, खुट्टा, गाला, ओठ फुट्ने समस्या साधारण स्वास्थ्य समस्याहरू हुन्। ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ। केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने डर हुन्छ। जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ। बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ। चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन। त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही बचावट हुन सक्छ।

राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ। राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ। शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ। त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ।

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन्। यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ। बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ। विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ।

सुत्नुभन्दाअघि अनुहार सफा गरेर तैलीय पदार्थहरूको प्रयोग गर्नु ठीक हुन्छ। जस्तो–दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ। यो घरमै पाइने सस्तो औषधी हो।

ओठ फुट्दा सुरुआतमा ओठको माथिल्लो भागमा के–के भएजस्तो हुन सक्छ। ज्वरो आएको बेला वा जाडो भएको बेला यो बढी हुन्छ। यस्तो बेलामा पहिले छाला रातो हुन्छ, चिलाउँछ घाउजस्तो भएर सुन्निन्छ। यस्तो बेलामा ऐना हेरेर हातले ती घाउ वा फोकाहरू छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्ने हुन्छ। यस्तो किसिमको घाउ एक प्रकारको जीवाणुबाट हुन्छ। कसैकसैलाई यो बारम्बार भइरहन्छ। यो बेलामा घाउलाई सकेसम्म सफा र सुख्खा राख्नुपर्छ। कहिलेकाहीँ मात्रै यसमा पीप आउन सक्छ। हातले छुने गर्नु हुँदैन।

यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन्। यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थ/तैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ।

SUBSCRIBE 👉