नृपेश उप्रेतीको सांगीतिक एल्बम आहान सार्वजनिक / बिक्रीबाट उठेको रकम चेपाङ बालबालिकाको शिक्षामा


गीतकार नृपेश उप्रेतीको एकल रचना र संगीतकार अर्जुन पोखरेलको एकल संगीतमा रहेको गीतिसंग्रह ‘आहान’ सार्वजनिक भएको छ। गीतकार एवं चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा गीतिसंग्रह आहान सार्वजनिक गरिएको हो। एल्बम बिक्रीबाट उठेको रकम चितवनको चेपाङ बस्तीका बालबालिकाको शिक्षादिक्षामा लगानी गरिने बताईएको छ।

Nripesh Upretiपत्रकारिता गर्दागर्दै १४ वर्ष अगाडि विदेशिएका गीतकार नृपेश उप्रेतीले समकक्षी पत्रकारहरुसमक्ष आफू नयाँ सोचाइका साथ अघि आएको बताए। पत्रकारिता गर्दा गर्दै केही सपना बोकेर विदेशिएका गीतकार उप्रेतीले सपना पूरा गर्दै जाँदा आफूलाई बचाइराख्ने भनेकै सिर्जना रहेछ भनेर गीतिसंग्रह लिएर आएको बताए।

कार्यक्रममा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, अभिनेत्री सरिता लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नृपेशको पत्रकारिता र गीतकार बनेर आएको सन्दर्भलाई औंल्याउँदै शुभकामना दिएका थिए। त्यस्तै गीतकार एवं संचारकर्मी रमेश पौडेलले उप्रेतीका मुक्तकका लाइनसँगै आफ्नो समीक्षा प्रस्तुत गरेका थिए। साहित्यका पारखी पौडेलले आफ्नो मुक्तकबाट गीतकार उप्रेतीको बयान गरेर उनका सफल सिर्जनाले सबैलाई मन छोएका बताए।

प्रमुख अतिथि गीतकार एवं चलचित्रकर्मी यादव खरेलले आहान एल्बमको शुभकामना दिँदै राम्रो गीतकारका रुपमा आफूले पाएको बताएका थिए। नयाँ पुस्तामा संगीतकार अर्जुन पोखरेल राम्रो संगीत सिर्जना गर्ने संगीतकारको रुपमा पाएको बताए। साहित्यिक व्यक्तित्व उप्रेती पत्रकारिताबाट विदेशिए पनि १४ वर्षपछि साहित्यिक भएर फर्किएकोमा शुभकामना दिएका थिए। उक्त अवसरमा एल्बममा समावेश गरिएको जुनी जुनी र आफ्नै जिन्दगीको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो।

आहान एल्बममा ९ वटा गीत समावेश गरिएको छ । जुनी जुनी, आफ्नै जिन्दगी, बढ्छ व्यथा, आउ प्रिय, नगर्नु माफ कहिल्यै, जिन्दगीको प्राप्ति तिमी, लुटेर जाने जस्ता गीत समावेश गरिएको छ। जसमा अन्जु पन्त, शर्मिला बर्देवा, शिव परियार, प्रमोद खरेल, हिमाल सागर, राज सिग्देल जस्ता गायक गायिकाको स्वर रहेको छ। एल्बमलाई द डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ।

SUBSCRIBE 👉