हङकङमा कन्दराको धमाकेदार सांगीतिक प्रस्तुति


लोकप्रिय गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जित्न सफल सांगीतिक समुह ‘कन्दरा’ ले हकङकबाट सांगीतिक कार्यक्रमको यात्रा थालनी गरेको छ। मर्दी खोला सेवा समितिले हङकङमा आयोजना गरेको ‘मर्दि हिमाल साँझ–२०१६’ मार्फत कन्दराले आफ्नो सेकेण्ड इनिङ प्रारम्भ गरेको हो।

Kandara Bibek Shresthaहङकङकमो युङलुङ थिएटरमा हालै सम्पन्न कन्सर्टमा ‘कन्दरा’ ले करिव १८ वर्षपछि पहिलो पटक सम्पूर्ण ब्याण्डको एकल लाइभ शो प्रस्तुत गरेको छ। करिव तीन घण्टासम्म सञ्चालन भएको कन्सर्टमा कन्दराले उपस्थित दर्शकको मन जित्न सफल भएको आयोजकको दावी छ।

कन्दराका गायक विवेक श्रेष्ठ तथा सहकर्मी संगीतकर्मीहरुले स्व.गोपाल योञ्जनप्रति समर्पित राष्ट्रिय गीत गाउँदै कन्सर्टको थालनी गरेका थिए। कार्यक्रममा कन्दराले आफ्ना सदाबहार लोकप्रिय गीतहरु प्रस्तुत गरिरहँदा दर्शकदीर्घाले समेत उनीहरुलाई साथ दिएका थिए।

कन्सर्टमा कन्दराले ‘हङकङ पोखरा’, ’छेक्यो छेक्यो देउराली डाँडा’, ‘तिमी पारी त्यो गाउँमा’ सहितका गीत प्रस्तुत गरेर दर्शकको मन जितेको थियो। लोक पप तथा आधुनिक शैलीका गीतमार्फत पृथक छाप छोड्न सफल कन्दरा समुह अब सक्रियतासाथ संगीतकर्ममा होमिने कन्दराका गायक विवेक श्रेष्ठले स्पष्ट पारेका छन्।

पछिल्लो समय कन्दरा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा छ। एल्बम सार्वजनिक गर्नुअघि कन्दराले विदेशमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने निम्तो पाएको हो। हङकङपछि कन्दराले दक्षिण कोरिया, मलेशिया तथा अष्ट्रेलियामा लाइभ कन्सर्ट प्रस्तुत गर्दैछ।

हेर्नुहोस् तस्विरहरु । ठुलो पारेर हेर्न सानो तस्विरमा क्लिक गर्नुहोस्

SUBSCRIBE 👉