१५ वर्ष पछि, नयाँ वर्षको पुर्वसन्ध्यामा ढकालको एकल साँझ


Ram-Krishna-Dhakal

ग्ल्यामर नेपाल, काठमाडौँ। मेलोडी किङको उपमा पाएका गायक रामकृष्ण ढकालले १५ वर्षपछि एकल साँझ गर्ने भएका छन्। २०४५ तथा २०५५ सालमा दुई पटक ढकाल सुमधुर साँझ कार्यक्रममा प्रस्तुत भएर दर्शक तथा स्रोताको मन जितिसकेका गायक ढकालले नयाँ वर्ष २०७१ सालको पूर्व सन्ध्यामा ‘तेस्रो ढकाल सुमधुर साँझ-२०७०’ मा सहभागि हुँदै न्यू इयर इभ मनाउन लागेका हुन् ।

कार्यक्रमका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अत्यन्त उत्साहित देखिएका गायक रामकृष्ण ढकालले यो एकल सांगीतिक कार्यक्रमलाई यसअघि कहिले नभएको भव्यता प्रदान गर्ने तयारी भैरहेको दावी गरे। ढकालका अनुसार यो सांगीतिक कार्यक्रमलाई भव्य, सभ्य र उत्कृष्ट बनाउन आयोजक तथा गायक स्वयं लागि परेका छन्। ग्रिश्मा ईन्टरटेन्मेन्टले चैत ३० गते साँझ होटल याक एण्ड यतिको प्रेक्षालयमा यो कार्यक्रम आयोजना गर्दैछ। ‘कार्यक्रम राती ९ बजेदेखि मध्यरात १२ बजेसम्म जारी रहनेछ, कार्यक्रमका बारेमा प्रकाश पार्दै गायक ढकालले भने – ‘कार्यक्रममा करिव दुई दर्जन लोक प्रिय गीत-संगीत प्रस्तुत गर्दैछु।’ कार्यक्रममा वाद्ययन्त्र बजाउनका लागि दार्जिलिङबाट समेत संगीतकर्मीहरु आउने भएका छन्। करिव २५ जना संगीतकर्मीहरुले लाइभ म्युजिकमार्फत एकल कार्यक्रमलाई संगीतमय बनाउने जिम्मा लिएका छन्।
Ram-Krishna-Dhakal-1

तीन दशक लामो सांगीतिक यात्रामा अनवरत रुपमा हिंडिरहेका गायक रामकृष्ण ढकालले १ दर्जनभन्दा बढि एकल गीति एल्बम सार्वजनिक गरिसकेका छन्। भर्खरै मात्र गीति एल्बम ‘बाँचुञ्जेलीलाई’ सार्वजनिक गरेका गायक ढकालले यही एल्बमका लागि विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरसंग युगल गीत गाएका छन्। आफ्नो जीवनमा आधारित रहेर ‘आशीर्वाद’ नामक नेपाली चलचिमा अभिनय समेत गरिसकेका छन्।

स्वरसम्राट नारायण गोपालपछिको सांगीतिक खाडल पुर्न सक्ने गायकको रुपमा स्थापित भैसकेका गायक रामकृष्ण ढकालले सुमधुर साँझमा आफ्ना लोक प्रिय आधुनिक गीतका साथै केही चलचित्रका गीत समेत प्रस्तुत गर्ने बताएका छन्। यस अघि ढकालले वि. स. २०४५ सालमा पहिलो पटक सुमधुर साँझको आयोजना गरेका थिए। १० वर्षपछि २०५५ मा दोस्रो एकल साँझ गरेका थिए।

भिडियो हेर्नुहोस

SUBSCRIBE 👉