बिबी अनुरागी सांगीतिक साँझ : टेको सन्ध्या हुने


bb-anuragi
कला र गला भए पनि पछाडि पर्दै आएका कलाकारलाई अगाडि ल्याउने र समाजमा विद्यमान विकृतिहरुलाई नाटक र गीत संगीतमार्फत उजागर गर्ने उद्येश्यले स्थापित नेपाली कला संगमले गीतकार, संगीतकार तथा गायक बिबी अनुरागीलाई एकल साँझमा उतार्ने भएको छ। नेपाली कला संगमले निर्भाना कला केन्द्रको सहकार्यमा भूकम्पबाट क्षतीग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पूर्न निर्माण तथा बृद्धाआश्रममा आश्रति बृद्धबृद्धाको सहयोगार्थ संगीतकार अनुरागीलाई पहिलोपटक राजधानीमा एक साँझमा उतार्न लागेको संगमका सल्लाहकार तथा कार्यक्रम संयोजक सुदर्शन महर्जनले जानकारी गराए।

टेको सन्ध्या नाम दिइएको सांगितीक कार्यक्रममा ख्यातिप्राप्त गायक गायिकाहरुले संगीतकार अनुरागीको संगीतमा आफुले गाएका गीतहरु प्रस्तुत गर्नेछन्। आगामी चैत १८ गते २ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने एकल साँझमा गायक गायिकाहरुले प्रत्यक्ष बाद्यवादनमा आफ्ना गीत प्रस्तुत गर्नेछन्। ३५ जनाभन्दा बढी बाद्याबादकका साथ आयोजना हुने कार्यक्रममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशीर योगी, रामचन्द्र काफ्ले, जुनु रिजाल, मिलन अमात्य लगायतका गायक गायिकाले आफ्ना चर्चित गीतहरु गाउनेछन्।

गीत रचनाका साथ गायन यात्रालाई पनि अगाडि बढाउादै आएका संगीतकार बिबी अनुरागी स्वयं पनि गायनका साथ प्रस्तुत हुने कार्यक्रममा उनले स्मृति शाही र सरिता शाहीका साथमा गीत प्रस्तुत गर्नेछन्। कार्यक्रममा सुमन नेपालीले नृत्य प्रस्तुत गर्नेछन्।

संस्थाको पहिलो बृहत कार्यक्रमस्वरुप बिबी अनुरागीलाई काठमाडौंमा पहिलोपटक एकल साँझमा प्रस्तुत गर्दै भूकम्पले क्षतिग्रस्त स्कुलको पूर्ननिर्माणमा हातेमालो गर्न लागेका हौं। यसबाट उठेको रकमबाट खर्च कटाई सम्पूर्ण रकम विद्यालयलाई दिने आयोजक को भनाइ छ।

SUBSCRIBE 👉