अस्ट्रेलियाबाट आयो नेपाली सांगीतिक एल्बम ‘अल्टो’


अस्ट्रेलियामा बसोबास गर्ने नेपाली संगीतकर्मीहरुको ब्याण्ड ‘अल्टो’ ले आफ्नो पहिलो एलबम ‘अल्टो -अ म्युजिक जर्नी’ सार्वजनिक गरेको छ । अस्ट्रेलियाको सिड्नी तथा मेलबर्नमा बसोबास गर्ने नेपाली युवा संगीतकर्मीहरुको यो ब्याण्डले सिड्नीमा आयोजित एक सांगीतिक समारोहमा एल्बम सार्वजनिक गरेको हो।

Nepali-Musical-Band-ALTO-australia-1

विमोचन समारोहमा अस्ट्रेलियाकै सांगीतिक समुह ‘सिड्नी प्रोजेक्ट इन ब्लूम (पिआईबि) लगायत तीन संगीतकर्मीहरु पनि उपस्थित थिए। विमोचन समारोहको क्रममा ‘अल्टो’ ब्याण्डका संगीतकर्मीहरुले लाइभ कन्सर्ट समेत गरे।

सन् २०१० मा स्थापना भएको यो ब्याण्डमा छ जना संगीतकर्मीहरु छन्। ब्याण्डमा लबिन बर्देवा गायकको रुपमा सक्रिय छन् भने अमित थापा, सुशिद्ध तण्डुकार तथा सन्देश परियार गिटारिष्ट हुन्। उनीहरु मध्ये अमित, सुशिद्ध तथा सन्देश ब्याक भोकलिष्ट पनि हुन्। शरद गुरुङ भने ब्याण्डमा ड्रमरका साथै मुख्य ब्याक भोलकलिष्टको रुपमा सक्रिय छन्। केनपी भने किबोर्डिष्टको रुपमा आवद्ध छन्। उक्त एल्बमका सम्पूर्ण गीतहरुमा ब्याण्डकै संगीतकर्मीहरुको शब्द तथा संगीत छ।

विमोचित एल्बममा आठ वटा गीतहरु समावेश छन्। ‘रमाइलो वातावरण’, ‘कोशिश’, ‘जय नेपाली’, ‘बसी बियाँलो’, ‘हेर न मलाई’, ‘आरध्य’, ‘समय’ तथा ‘हाम्रो’ आवाज शीर्षकका गीतहरु पप शैलीमा आधारित छन्। गीतमा समसामयिक आधुनिक संगीतदेखि परम्परागत लोक धुन समेत सुन्न सकिन्छ।

Nepali-Musical-Band-ALTO-australia-2

सन् २०१० मा अमित थापा तथा लबिन वर्देवाको भेट भएपछि यो ब्याण्डको जन्म भएको हो। अस्ट्रेलिया पुगेको दश वर्षपछि उनीहरुको भेट भएको थियो। समुहले प्रारम्भमा मोर्डन अल्टरनेटिभ तथा लोक शैलीका गीतहरु सिर्जना गरेका थिए। ब्याण्डले आफ्नो पहिलो एल्बम सन् २०१४ को अप्रिल महिनामा रेकर्ड गरेको थियो, जसमा ८ गीत समावेश थिए।

समुहका मुख्य गायक लबिन बर्देवा भन्छन् – ‘हामीले दश वर्षको कडा परिश्रमपछि यो एल्बम तयार पार्न सफल भएका हौं। वास्तवमा विदेशी भूमिमा रहेर नेपाली भाषाका गीतहरुको एल्बम तयार पार्नु आफैंमा एउटा चुनौती थियो। हामी दुई भिन्न शहरमा बसोबास गर्ने भएकाले पनि गीत तयार पार्न समस्या झेलेका छौं।’

ब्याण्डका अर्का सदस्य सुशिद्ध भन्छन्-‘हामी ब्याण्डका सदस्यहरुमा संगीतको आ-आफ्नो विशिष्ट ज्ञान छ, त्यो ज्ञानले हाम्रो एल्बम सांगीतिक रुपले आकर्षक बनेको कुरामा दुई मत छैन।’

ब्याण्डका अर्का सदस्य भन्छन्—’हामीलाई नेपाली लोक शैली मनपर्छ जसले नेपालका पहाड तथा गाउँको भावनालाई टपक्क टिपेको होस्।’ ब्याण्डका ड्रमर शरद भन्छन् – ‘हामीले गीतका शब्दमा पनि उत्तिकै मेहनत गरेका छौं। गीतमा हामीले हाम्रै जीवन तथा परिवेशका कुरा समावेश गरेका छौं।’

SUBSCRIBE 👉