नेपालका ख्यातिप्राप्त एवं वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशेष कार्यक्रम प्रस्तुतिका लागि अमेरिकाको मेरिल्याण्ड आउने भएका छन्। महजोडी अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित ‘नेपा पास पुचः अमेरिकाये’ को २५ औं बार्षिकउत्सवमा सहभागी हुन लागेका हुन्।
महजोडी आगामी नोवेम्बर ४ र ५ तारिखमा हुने समारोहमा सहभागी हुनका साथै विशेष कार्यक्रम प्रस्तुतिका लागि आउन लागेके संस्थाकी अध्यक्ष सरोज प्रजापतिले जानकारी दिएकी छिन्। अध्यक्ष प्रजापतिले २५ औ वसन्त पार गरेको अवसरमा विविध कार्यक्रम तथा विशेष समारोह गर्ने निर्णय भएकाले महजोडीलाई निम्त्याउँदा सुनमा सुगन्ध हुने भन्दै उहाँहरूजस्ता कलाकारलाई बोलाउने अवसर मिलेमा खुशी व्यक्त गरिन्।
उक्त समारोहमा नेपाल र नेपालीका पौराणिक एवं मौलिक संस्कृति बोकेको बार्षिक सम्वत् “न्ह्यु दया भिन्तुना -११३७” को विशेष कार्यक्रम पनि भव्यरुपमा मनाइने प्रजापतिले जानकारी दिइन्। दुई दिनसम्म चल्ने उक्त २५ औं वार्षिक उत्सव शुक्रबार र शनिबार हुनेछ l पहिलो दिन साँझ ६ बजे महपूजाका साथै सांस्कृतिक कार्यक्रम रहने छ भने दोश्रो दिन शनिबार समुद्घाटन, समय बजी, नेवाः सामुहिक रात्रिभोजका साथै महजोडी तथा अन्य लोकप्रिय कलाकारहरुको प्रस्तुति रहनेछ।
संस्थाले अग्रिमरुपमा महजोडीको कार्यक्रम हेर्न चाहनेहरुका लागि सरल होस् भन्ने हेतुले घरमै बसेर विद्युतीय सञ्जालमार्फत टिकट किन्न सकिने चाँजोसमेत मिलाएको छ। पहिलो दिनको कार्यक्रमका लागि २० डलर कायम गरिएको छ भने दोश्रो दिन तथा खाजा, रात्री भोजन र मह जोडीको कार्यक्रम समेतका लागि ४५ डलर तोकिएको छ।
कार्यक्रम नर्थवुड हाई स्कुल, सिल्भर स्प्रिन्ग्स मेरिल्याण्डमा हुने भएको छ। अग्रिम रुपमा टिकट तथा अन्य विस्तृत जानकारीका लागि संस्थाको आधिकारिक सञ्जालबाट लिन सकिने संस्थाका महासचिव मनोहर श्रेष्ठले बताए। कार्यक्रममा विदेशी अतिथि, नेपाली कुटनैतिक पदाधिकारीका साथै विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने बताइएको छ। अध्यक्ष प्रजापतिले यस्तो पावन अवसरमा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आग्रह गरेकी छिन्।