कति प्रभावकारी होला कलाकार आचारसंहिता ?


priyanka-karki-wardrobeग्ल्यामर नेपाल, काठमाडौं । कलाकार संघको शुक्रबार बसेको बैठकले एउटा दिर्घकालीन महत्व राख्ने निर्णय गरेको छ। कलाकारको सामाजिक आचरणमाथि प्रश्न चिन्ह उठिरहेको बेला संघले कलाकार आचारसंहिता निर्माण गर्ने निधो गरेको छ। पछिल्लो समय खासगरी हिरोइनहरुले लगाएका अश्लील ड्रेस, बसाई र हाउभाउका कारण सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ। २६ असारमा सम्पन्न ‘नाईं नभन्नु ल २’को सक्सेस पार्टीमा भएको नायिका प्रियंका कार्कीको वार्डरोव मालफंक्सन यसको उदाहरण हो। आचारसंहिता निर्माण गर्न संघ हत्तारिनुको एउटा कारण प्रियंकाको यही मालफंक्सनपश्चात आएको कडा प्रतिक्रियालाई मानिएको छ। ‘कलाकारको बोलिचाली र लवाईखवाईको बारे धेरै तर्फबाट सुझाव आएकोले आचारसंहिता लागु गर्न लागेको’ भन्ने संघका अध्यक्ष नवल खड्काको अभिव्यक्तिले पनि यही कुरा प्रतिविम्बित गर्छ।

कलाकारलाई समाजको गहना मानिन्छ। उनीहरुको बोलीचाली र लवाईखवाईको शैली अनुशरण गर्ने धेरै हुन्छन्। त्यसैले पनि कलाकारहरु आर्दश हुनुपर्छ भन्ने मान्यता छ। कम्तीमा सार्वजनिक स्थानमा प्रस्तुत हुँदा निकै संवदेनशिल हुनु जरुरी छ। तर नेपाली कलाकारमा अनुशासनको कमी भएको भन्दै धेरै आलोचना हुने गरेको छ। सायद यही आलोचनालाई कमी गर्न संघले आचारसंहिता जारी गर्न लागेको हो। २० बुँदे उक्त आचारसंहिता नमान्नेलाई बहिष्कार गर्नेसम्मको तयारी भइरहेको बुझिएको छ। आचारसंहितामा अश्लीलतासहित प्रस्तुत नहुन र सार्वजनिक कार्यक्रममा भद्र, विनम्रता र अनुशासित भइदिन आग्रह गरिनेछ।

आचारसंहिता आफैंमा नियम होइन्। आचारसंहिता पालना नगर्नेलाई कारवाही गर्ने खास प्रावधान पनि हुँदैन् तर विवेकशिल व्यक्तिको लागि आचारसंहितको ठूलो महत्व हुन्छ। आचारसंहितासँग नैतीकताको कुरा बढि जोडिन्छ। व्यक्तिको सभ्यताको मापन पनि आचारसंहिता पालना गरेको छ कि छैन् ? भन्नेबाट गरिन्छ। नेपाली कलाकार कति सभ्य र अनुशासित छन् भन्ने कुरा आचारसंहिता लागु भएपछि थाहा हुनेछ।

SUBSCRIBE 👉