
Mahesh Kafle and Asmita Adhikari during the Soulful USA Musical Yatra
चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ। यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका छन्।
‘थ्री ई इन्टरटेन्मेन्ट’ले महेश र अस्मिताको जोडिलाई फिचर्ड गर्दै आयोजना गरेको ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’ करिब साढे २ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो।
भर्जिनियाको एसबर्नमा आयोजित दसैँ तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा महेश र अस्मिताको प्रस्तुतिमा १५००० भन्दा बढी दर्शकहरुले साथ दिएको आयोजक ‘थ्री ई इन्टरटेन्मेन्ट’ का तर्फबाट सुरेश सापकोटाले बताए। ‘सोलफुल यु.एस.ए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको र दर्शकहरूले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए।
परदेशमा रहनु भएका नेपालीहरु सँग दसैँ तिहार जस्तो महत्त्वपूर्ण नेपाली चाड सँगै मनाउन र सोहि अवसरमा प्रस्तुति दिन पाउँदा खुशी लागेको अस्मिता र महेशले बताए।
