
अभिनेत्री नीता ढुङ्गानाले निर्देशनमा डेब्यु गर्दै आफ्नो नयाँ फिल्म ‘पार्वती’को छायांकन औपचारिक रूपमा सुरु गरेकी छन्। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, मिर्सा गाउँमा शुभमुहूर्त गर्दै फिल्म फ्लोरमा गएको हो।
नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा नीताले निर्देशनसँगै मुख्य भूमिका पनि निभाउँदैछिन्। उनको साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ। अहिले सम्पूर्ण टिम कास्कीमै सुटिङमा व्यस्त रहेको कार्यकारी निर्माता शंकर पाण्डेले जानकारी दिएका छन्।
फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक ढुङ्गानाले तयार पारेकी हुन् भने स्क्रिप्ट लेखन शिवम् अधिकारीले गरेका छन्। सिनेमाटोग्राफी (DOP) सुदीप बरालले सम्हालेका छन्।
विशेष चासोको विषय बनेका छन् क्रियटिभ निर्देशक सरोज अधिकारी। ‘कार्टुन क्रु’बाट चर्चामा आएका उनी म्युजिक भिडियोमा सफल यात्रा पछि पहिलो पटक फिचर फिल्ममा क्रियटिभ निर्देशकको भूमिकामा देखिँदैछन्। यसले फिल्मको दृश्य प्रस्तुति र नृत्य शैलीलाई फरक बनाउने अपेक्षा गरिएको छ।
प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्। सम्पादन साहिल खानले गर्नेछन् र पोस्टर डिजाइन रोयल भिमसेनले तयार पार्नेछन्।
निर्माण टिमले फिल्मलाई आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ। सोही मितिलाई ध्यानमा राख्दै सुटिङ र पोस्ट–प्रोडक्सन काम तीव्र गतिमा अगाडि बढाइएको निर्देशक ढुङ्गानाले बताएकी छन्। उनका अनुसार फिल्मको छायांकन करिब एक महिनाभित्र सक्ने योजना छ।
यसअघि निता फिल्मस्को व्यानरमा फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण भएको थियो।
हालै नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूको सक्रियता बढ्दै गइरहेको अवस्थामा नीता ढुङ्गानाको यो कदमलाई पनि सकारात्मक रूपमा हेरिएको छ। ‘पार्वती’ले कथावस्तु र प्रस्तुतिमा नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस्: टिकटकर आयुष सिंह ठकुरीको फिल्म इन्ट्री, ‘राम नाम सत्य’मा सस्पेन्स भूमिका
