बुटवलका गल्लीदेखि ग्याङ्स्टर दुनियाँसम्म, यथार्थको स्वाद बोकेको ‘पारी बुटोल’ टिजरले बढायो उत्सुकता

गणेश देव पाण्डे निर्देशित फिल्म ‘पारी बुटोल’ (Paari Butol)ले बुटवलको वास्तविक परिवेशमा आधारित युवा संघर्ष र ग्याङ्स्टर कथा प्रस्तुत गर्ने संकेत दिएको छ। ‘पारी बुटोल’ले नेपाली दर्शकमाझ नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।


नेपाली चलचित्र ‘पारी बुटोल'(Paari Butol)को टिजर सार्वजनिक गरिएको छ, जसले ग्याङ्स्टर जनरामा बनेको फिल्मको झलक दिन्छ। गणेश देव पाण्डेको निर्देशनमा तयार भएको टिजरमा मुख्य पात्रहरूलाई क्रमशः परिचित गराउँदै उनीहरूको लुक्स र चरित्र प्रस्तुत गरिएको छ।

टिजरमा कलाकारहरूको प्रभावशाली अभिनयसँगै महेश पौडेलको जीवन्त छायांकन, जटावेदा बेनर्जी को ब्याकग्राउन्ड स्कोर र भ्योमाको गीतले विशेष माहोल तयार पारेको छ।

निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर कथा होइन, यो युवाहरूको जीवन, परिवार, संघर्ष र सफलताको दौडमा हुने चलखेलको यथार्थ चित्रण हो। बुटवलका वास्तविक स्थानमा छायांकन गरिएको फिल्मले स्थानीय परिवेश, भाषा र जीवनशैलीलाई जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास गरेको छ।

फिल्मका पात्रहरू पनि बुटवलकै वास्तविक जीवनबाट प्रेरित छन्। उनीहरूको बोलीचाली, हाउभाउ र व्यवहारलाई यथार्थसँग नजिक राख्न निर्माण टोलीले विशेष ध्यान दिएको बताइएको छ।


यो पनि पद्नुहोस र भिडियो पनि हेर्नुहोस्:
शोषणविरुद्ध आवाज: ‘लालीबजार’ ट्रेलरले देखायो कडा यथार्थ


पात्रहरूलाई विश्वसनीय बनाउन करिब एक हजारभन्दा बढी कलाकारहरूको अडिसन लिइएको थियो। अन्तिम छनोटपछि कलाकारहरूलाई करिब छ महिनाको अभिनय कार्यशाला र एक महिनाको एक्सन ट्रेनिङ दिइएपछि मात्रै छायांकन सुरु गरिएको थियो।

फिल्मका निर्माता ल्याक्सी श्रेष्ठ हुन् भने सह–निर्मातामा मनीषा अधिकारी रहेकी छन्।

कलाकारको सूची पनि बलियो छ। अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला र विक्रम श्रेष्ठ लगायतका कलाकारहरू देखिनेछन्।

फिल्मको एक्सन एनबी महर्जन ले सम्हालेका छन् भने सम्पादन लोकेश बज्राचार्य ले गरेका छन्। कला निर्देशन मनिता सुन्दास को छ भने लोकेसन साउन्ड रोहित बराल ले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन ले गरेका हुन्।

स्थानीय कथा र यथार्थमा आधारित ‘पारी बुटोल’ले नेपाली दर्शकमाझ नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

‘पारी बुटोल’ को पहिलो टिजर हेर्नुहोस्

SUBSCRIBE 👉