
वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले बलियो प्रतिक्रिया पाएको छ। बिहीबार बेलुकी आयोजित भव्य प्रिमियरमा फिल्म हेरेका सेलिब्रेटी, राजनीतिज्ञ तथा बादी समुदायका अभियन्ताले फिल्मको खुलेर प्रशंसा गरेका हुन्।
प्रिमियरमा उपस्थित मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्मबाट निकै प्रभावित देखिए। कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’लाई “१० मा १० नम्बर डिजर्भ गर्ने फिल्म” भन्दै कथा, निर्देशन र अभिनय सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए।
उनले आमाछोरीको भावनात्मक सम्बन्धलाई फिल्मले अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए। हरिवंश आचार्यले पनि फिल्मलाई सामाजिक सन्देशसहित मनोरञ्जनात्मक र भावुक फिल्मको रूपमा व्याख्या गरे।
प्रिमियरमा अभिनेत्री स्वस्तिमा खड्काको अभिनय विशेष चर्चामा रह्यो। धेरै दर्शक र फिल्मकर्मीले उनको भूमिकाले आँखा रसाएको प्रतिक्रिया दिएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनयको स्तर अझ माथि पुर्याएको बताए।
पूर्वमन्त्री सुमना श्रेष्ठले फिल्मले समाजमा रहेको विभेद र त्यसविरुद्धको संघर्षलाई सरल र प्रभावकारी शैलीमा देखाएको बताइन्। नेता रवीन्द्र मिश्रले पनि नेपाली समाजको पीडादायी यथार्थलाई फिल्मले कलात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिए।
बादी समुदायकी अभियन्ता देवीसरा बादीले फिल्म हेर्दा आफ्नै आमाको संघर्ष सम्झिएको बताइन्। “यो केवल फिल्म होइन, हाम्रो समुदायको कथा पनि हो,” उनले भनिन्।
प्रिमियरमा फिल्म हेरेर निस्किएका अभिनेता अनुपबिक्रम शाही, महेश त्रिपाठी, गौरी मल्ल, गरिमा शर्मा, तेरिया मगर लगायतले पनि फिल्मको विषयले मन छोएको प्रतिक्रिया दिए।
निर्देशक निश्चल बस्नेतले फिल्मले दिएको सामाजिक सन्देश धेरै दर्शकसम्म पुग्नुपर्ने बताए। उनका अनुसार, ‘लालीबजार’ मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने फिल्म हो।
निर्देशक तथा लेखक यम थापाले पहिलो दर्शकबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायत कलाकारको अभिनय रहेको छ।
विशाल देवकोटा र प्रशंसा सुवेदीले यही फिल्मबाट डेब्यु गरेका छन्। फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।
यो पनि पढ्नुहोस्: दर्शकले मन पराएको जोडी ‘मितज्यू’मा दयाहाङ र सौगातको द्वन्द्व
