पहिलो पोस्टरले नै ‘अक्षरा’को भावनात्मक धरातललाई बलियो बनाउने प्रयास गरेको देखिन्छ। न्यान्सीको मौन अनुहारभित्र लुकेको कथा आखिर के हो?

One Poster, Many Questions: Nancy Khadka Leads ‘Akshara’ First Look
आगामी भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘अक्षरा’ को पहिलो लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले प्रचारप्रसारको सुरुवात गर्दै सार्वजनिक गरेको पोस्टरले फिल्मको भावनात्मक संसारबारे कौतुहलता बढाएको छ।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ। उनी ढुङ्गे चौतारोमा एक्लै बसेकी छन्। उनको अनुहारमा देखिएको मौनता, शरीरको स्थिर हाउभाउ र टोलाइरहेको नजरले पात्र कुनै गहिरो मानसिक द्वन्द्व, पीडा वा अपूरो कथाभित्र बाँचिरहेको आभास दिन्छ।
पोस्टरको पृष्ठभूमि पनि उत्तिकै अर्थपूर्ण छ। पात झरेका नाङ्गा रुख, सुनसान पहाडी वातावरण र साँझको मधुरो उज्यालोले ‘अक्षरा’ केवल रोमान्टिक वा सामान्य सामाजिक फिल्म नभएर भावनात्मक संघर्षको कथातर्फ उन्मुख हुनसक्ने संकेत गर्छ। निर्माण पक्षले कथावस्तु विस्तारमा खुलाएको छैन, तर पहिलो लुक्सले फिल्मको टोन गम्भीर, संवेदनशील र पात्र–केन्द्रित हुने अनुमान गर्न सकिन्छ।
न्यान्सी खड्का पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्रीका रूपमा हेरिएकी छन्। उनले यसअघि दर्शकमाझ चर्चा कमाएको फिल्म ‘१२ गाउँ’ मार्फत आफ्नो उपस्थितिलाई बलियो बनाएकी थिइन्। उनी अनमोल केसी अभिनीत आगामी फिल्म ‘बाटुलो जुन’ सँग पनि जोडिएकी छन्। मोडलिङ र सौन्दर्य प्रतियोगिताबाट पहिचान बनाएकी न्यान्सी मिस नेपाल इन्टरनेसनल २०२२ विजेता समेत हुन्।
विनय राज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’मा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम के.सी., रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने, निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले अभिनय गरेका छन्।
सोनी थापा ढुंगानाको प्रस्तुति रहेको फिल्म क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको हो। फिल्मलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन्। मूल कथा निर्माता उग्रसेन ढुंगानाकै रहेको छ भने पटकथा तथा संवादमा निर्देशक पौडेललाई अभिमन्यु निरवीले साथ दिएका छन्।
फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाको गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, दिपेन बस्न्यातको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रा.लि.का दीपक दंगालले देशभर वितरण गर्ने बताइएको छ।
यो पनि पढ्नुहोस्: ‘लालीबजार’को सफलता: दर्शकको माया कि बलियो कथा? पूरा गर्यो प्रदर्शनको ५१ दिन
