‘खुस्मा’ पछि अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’, पोस्टरमा देखियो गहिरो भाव

अशोक थापा मगरको निर्देशनमा निर्माण हुनलागेको नयाँ चलचित्र ‘जलाकी’ मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ। सार्वजनिक दुई पोस्टरमा सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रेम र पीडाको दुई फरक भावमा प्रस्तुत गरिएको छ। चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति तथा प्रेमकथालाई जोड्नेछ।


सुपरहिट चलचित्र ‘खुस्मा’ बाट दर्शकको मन जितेका निर्देशक अशोक थापा मगर अब नयाँ चलचित्र ‘जलाकी’ लिएर आउने तयारीमा छन्। निर्माण टिमले चलचित्रका दुई आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने घोषणा गरेको छ।

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरी दुई फरक भावनात्मक अवस्थाबाट प्रस्तुत भएका छन्। एक पोस्टरले प्रेम, विश्वास र आत्मीयताको उज्यालो पक्ष देखाउँछ भने अर्कोले सम्बन्धभित्रको मौन पीडा, दूरी र भावनात्मक संघर्षलाई संकेत गर्छ।

पहिलो पोस्टरमा सोनाम र उपासना प्रेमिल अँगालोमा देखिएका छन्। उनीहरूको अनुहारमा देखिएको मुस्कान, आँखामा झल्किएको विश्वास र नजिकपनले प्रेमको कोमल संसारलाई चित्रण गरेको छ। पोस्टरले चलचित्रमा प्रेमको सुन्दर र आत्मीय पक्षलाई प्रमुख रूपमा समेटिएको संकेत दिन्छ।

दोस्रो पोस्टर भने भावनात्मक रूपमा गहिरो छ। उपासना सोनामको काँधमा टाउको राखेर बसेकी छन् भने सोनाम गम्भीर भावमा टाढा हेरेका देखिन्छन्। दुवै पात्रको मौन अभिव्यक्तिले प्रेमभित्र लुकेको पीडा, संघर्ष र सम्बन्धको कठिन मोडलाई उजागर गर्छ।

पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्न थालेको छ। सामाजिक सञ्जालमा पोस्टरको लुक, कलाकारको जोडी र चलचित्रको भावनात्मक प्रस्तुतीकरणलाई लिएर सकारात्मक प्रतिक्रिया देखिन थालेका छन्।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना, माया र पहिचानको प्रतीकका रूपमा चिनिने ढुंगाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार चलचित्रले यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ।

यस अर्थमा ‘जलाकी’ केवल प्रेमकथा मात्र होइन, सांस्कृतिक पहिचान, मानवीय सम्बन्ध र भावनात्मक यात्राको कथा पनि हो। सार्वजनिक पोस्टरले पनि चलचित्रमा प्रेमको मिठाससँगै जीवनका संवेदनशील मोडहरू समेटिएको संकेत दिएका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा सोनाम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिन को अभिनय रहेको छ।

चलचित्रमा क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन्। बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर रहेका छन्। यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बू ले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

चलचित्रका निर्माताहरूमा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी छन्।

‘जलाकी’ मा शैलेन्द्र डी. कार्की को छायांकन रहेको छ। चलचित्रमा एसडी योगी र सरित राई को संगीत, तथा सुरेन्द्र राना र राम अविरल विष्ट का गीत छन्। गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगर ले स्वर दिएका छन्।

निर्देशक अशोक थापा मगरको पहिलो चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। सोही चलचित्रमा समावेश ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा निकै लोकप्रिय बनेको थियो। ‘खुस्मा’ को सफलतापछि अशोकले ‘जलाकी’ मार्फत फेरि दर्शकको मन जित्ने अपेक्षा राखेका छन्।

गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसन ले वितरण गर्ने ‘जलाकी’ मंसिर ४ गते देशभरका हलमा प्रदर्शनमा आउनेछ।


यो पनि पढ्नुहोस्: पोस्टरमै देखियो ‘अक्षरा’को पीडा: नाङ्गा रुख, सुनसान चौतारो र मौन न्यान्सी खड्का


SUBSCRIBE 👉