चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’

फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत आधिकारिक युट्युब च्यानल तथा सामाजिक सञ्जालबाट हटाइएको छ।


अभिनेत्री प्रियंका कार्कीको निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’को प्रमोशानल गीत विवादमा परेपछि प्रियंका कार्की र गायक दुर्गेश थापा दुवैले सार्वजनिक रूपमा माफी मागेका छन्। गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका तथा शिक्षण पेसाको गरिमामा चोट पुगेको भन्दै आलोचना बढेपछि उनीहरूले गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानल र आफ्ना सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन्।

प्रियंकाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको वक्तव्यमा विवाद, प्रतिक्रिया र चासोलाई गम्भीरतापूर्वक लिएको बताएकी छन्। उनले उक्त गीत फिल्मभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि आपसी समन्वयमा तयार पारिएको स्पष्ट पारेकी छन्।

उनका अनुसार विवादित गीत फिल्मको कथावस्तुमा कतै पनि समावेश गरिएको छैन। यसअघि प्रकाशित विवरणमा पनि गीत ‘मास्टर्नी’को प्रमोसनका लागि मात्र तयार गरिएको र फिल्मभित्र नरहेको उल्लेख गरिएको थियो।

प्रियंकाले भनिन् – ‘गल्ती महसुस गर्दै क्षमायाचना गर्दछु’

प्रियंकाले गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण सम्मानित शिक्षक–शिक्षिका पेसा तथा त्यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई गम्भीर रूपमा लिएको बताएकी छन्।

कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्‍याउने आफ्नो वा टिमको मनसाय नरहेको उनको भनाइ छ। तर प्रस्तुतिले अन्जानमा भावना दुखाएको स्वीकार गर्दै उनले व्यक्तिगत रूपमा र सम्पूर्ण टिमका तर्फबाट क्षमायाचना गरेकी छन्।

“हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु,” प्रियंकाले वक्तव्यमा भनेकी छन्।

पहिलोपटक फिल्म निर्माणको यात्रा सुरु गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने कल्पनासमेत नगरेको उल्लेख गर्दै उनले अहिलेको विवादलाई गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएको बताएकी छन्।

प्रियंकाले सम्पूर्ण गुरु–गुरुआमा, नेपाल शिक्षक महासंघ र गीतका कारण आहत भएका दर्शकसँग उच्च सम्मानसहित माफी मागेकी छन्।

गीत ‘सधैँका लागि’ हटाइएको दाबी

प्रियंकाले विवादको गम्भीरता मनन गर्दै गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट सधैँका लागि हटाइसकिएको उल्लेख गरेकी छन्। आफ्ना सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मबाट पनि गीतका अंश पूर्ण रूपमा हटाइएको उनको भनाइ छ।

उनले दर्शकबाट प्राप्त सल्लाह, सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरेको बताउँदै आगामी सिर्जना तथा विषयवस्तु छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

दुर्गेश थापाले पनि यसअघि छुट्टै वक्तव्य जारी गर्दै गीतका केही शब्द तथा प्रस्तुतिले दर्शक, शिक्षक–शिक्षिका र गुरुजनको भावनामा चोट पुगेको स्वीकार गरेका थिए। उनले आफ्नो र सम्पूर्ण टिमका तर्फबाट माफी माग्दै गीत आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका थिए।

यससँगै गीतसँग प्रत्यक्ष जोडिएका प्रमुख दुई कलाकार तथा निर्माण पक्षबाट औपचारिक रूपमा क्षमायाचना आएको छ।

किन विवादमा परेको थियो गीत?

दुर्गेश थापा र प्रियंका कार्की प्रस्तुत ‘मास्टर्नी’ गीत सार्वजनिक भएपछि यसमा प्रयोग भएका द्विअर्थी शब्द, दृश्य र नृत्य प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको थियो। केही प्रयोगकर्ताले गीतलाई मनोरञ्जनात्मक माने पनि ठूलो समूहले शिक्षिकाको छवि र शिक्षण पेसाको सम्मानमा प्रतिकूल प्रभाव पार्ने सामग्री भएको टिप्पणी गरेको थियो।

गीत दुर्गेश थापाले लेख्नुका साथै संगीत पनि आफैंले तयार गरेका थिए। सार्वजनिक कार्यक्रममा गीतका शब्दबारे प्रश्न उठ्दा उनले सुरुमा गीत कसरी बुझ्ने भन्ने कुरा श्रोताको सोचमा निर्भर हुने प्रतिक्रिया दिएका थिए।

विवाद बढ्दै गएपछि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले गीतप्रति औपचारिक आपत्ति जनाएका थिए। ती संस्थाले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव प्रयोग गरिएको आरोप लगाउँदै डिजिटल माध्यमबाट तत्काल हटाउन माग गरेका थिए। माग पूरा नभए कानुनी उपचार र आन्दोलनमा जाने चेतावनीसमेत दिइएको थियो।

विवादपछि बदलियो दुवैको धारणा

गीत सार्वजनिक हुँदाको सुरुवाती चरणमा निर्माण तथा कलाकार पक्षले यसलाई मनोरञ्जनात्मक प्रचार सामग्रीका रूपमा प्रस्तुत गरेको थियो। तर शिक्षक समुदाय, दर्शक र सामाजिक सञ्जालबाट निरन्तर आपत्ति आएपछि दुर्गेश र प्रियंका दुवैले गल्ती महसुस भएको बताएका छन्।

उनीहरूको पछिल्लो वक्तव्यले गीत हटाउने निर्णय मात्र नभई कलाकार र निर्माण पक्षमाथि उठेको सामाजिक उत्तरदायित्वको प्रश्नलाई पनि सम्बोधन गरेको छ। सिर्जनात्मक स्वतन्त्रता प्रयोग गर्दा कुनै पेसा, समुदाय वा व्यक्तिको गरिमा र संवेदनशीलताप्रति सजग हुनुपर्ने बहस यस प्रकरणपछि थप चर्किएको छ।