सौगात बस्नेतको निर्देशनमा साइकोलोजिकल थ्रिलर फिल्म ‘पञ्चमी’ घोषणा

उपन्यासमा आधारित साइकोलोजिकल मिस्ट्री थ्रिलर ‘पञ्चमी’ घोषणा भएको छ। सौगात बस्नेत निर्देशित चलचित्रको पोस्टरमा रहेका नाग, त्रिशूल, चन्द्रमा र पाँच घेराले रहस्य बढाएका छन्।


नेपाली चलचित्रमा साइकोलोजिकल मिस्ट्री थ्रिलरको नयाँ प्रयोग गर्ने दाबीका साथ चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि सक्रिय सौगात बस्नेतले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्।

चलचित्रको घोषणासँगै सार्वजनिक गरिएको थिम पोस्टरले कथा खुलाउनुभन्दा धेरै प्रश्न जन्माएको छ। पुरानो टाइपराइटरमा लेखिएको ‘पञ्चमी’, त्यसमाथि त्रिशूल र दुई नाग, शीर्षकलाई घेरेका पाँच घेरा, नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र पोस्टरका प्रमुख आकर्षण हुन्।

निर्देशक बस्नेतका अनुसार पोस्टरमा प्रयोग गरिएका यी प्रतीक सजावटका लागि मात्र राखिएका होइनन्। ती चलचित्रका पात्र र कथासँग प्रत्यक्ष रूपमा जोडिनेछन्। अहिले जटिल देखिएका संकेतको अर्थ चलचित्र हेरेपछि सहज रूपमा खुल्ने उनको भनाइ छ।

पोस्टरमा लेखिएको अंग्रेजी वाक्य ‘आई हेट हु एभर कम्स लेट’ले रहस्यलाई थप गहिरो बनाएको छ। यो भनाइ कसले, कसका लागि र कुन परिस्थितिमा प्रयोग गरेको हो भन्ने जानकारी निर्माण पक्षले खुलाएको छैन।

बस्नेतले चलचित्रबारे भनेका छन्, “टाइटलमा हामीले जसरी डिजाइन गरेका छौँ, अहिले हेर्दा केही जटिल लाग्न सक्छ। तर, सिनेमा हेर्दा यसको सम्बन्ध सहज रूपमा बुझिनेछ। त्यतिबेला यो थिमको औचित्य पनि पुष्टि हुनेछ। यो साइकोलोजिकल मिस्ट्री थ्रिलर हो।”

उपन्यासको नाम अझै गोप्य

‘पञ्चमी’ पूर्ण रूपमा मौलिक कथामा बन्न लागेको चलचित्र भने होइन। निर्माण पक्षका अनुसार यो एउटा उपन्यासको चलचित्र रूपान्तरण हो। तर, कुन लेखकको कुन उपन्यासमा आधारित छ भन्ने विवरण अहिले सार्वजनिक गरिएको छैन।

मूल कृति गोप्य राख्ने निर्णयले चलचित्रप्रतिको उत्सुकता बढाएको छ। सँगै, रूपान्तरण अधिकार, पटकथा लेखन र मूल कथासँग चलचित्रले कस्तो सम्बन्ध राख्नेछ भन्ने प्रश्न पनि खुला राखेको छ।

पर्दापछाडिको अनुभवपछि निर्देशनमा

सौगात बस्नेतका लागि ‘पञ्चमी’ पहिलो निर्देशकीय चलचित्र हो। यद्यपि, उनी नेपाली चलचित्र निर्माण प्रक्रियासँग अपरिचित छैनन्। उनले यसअघि दीपेन्द्र के. खनाललगायत निर्देशकसँग मुख्य सहायक निर्देशक र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन्।

पर्दापछाडिको यही अनुभवलाई उनले आफ्नो पहिलो निर्देशनमा कसरी प्रयोग गर्छन् भन्ने विषय पनि ‘पञ्चमी’प्रतिको चासोको अर्को कारण बनेको छ।

कलाकार र प्राविधिक टोली खुल्न बाँकी

चलचित्रका कलाकार, पटकथा लेखक, निर्माता तथा अन्य प्राविधिक टोलीबारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन। छायांकन सुरु हुने मिति र प्रदर्शन योजना पनि सार्वजनिक भएको छैन।

निर्देशक बस्नेतले चलचित्रसम्बन्धी विवरण चरणबद्ध रूपमा सार्वजनिक गरिने र चाँडै यसको पहिलो झलक देखाइने बताएका छन्।

‘पञ्चमी’को घोषणाले अहिले कथा सुनाएको छैन, बरु रहस्यको ढोका मात्र खोलेको छ। टाइपराइटर, त्रिशूल, नाग, चन्द्रमा र पाँचवटा घेरा, यी संकेत वास्तवमै कथाका सूत्र हुन् वा दर्शकलाई भ्रमित गर्ने खेल? यसको उत्तर चलचित्रका थप सामग्री सार्वजनिक भएपछि क्रमशः खुल्दै जानेछ।