
बिपिशा भट्टराई र रोजी श्रेष्ठले ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेका छन्। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको भव्य ग्राण्ड फिनालेमा बिपिशा ‘मिस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ र रोजी ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ घोषित भएका हुन्।
समारी इन्टरनेशनल इभेन्ट्स प्रालिको आयोजनामा तथा बिहे सेवाको मुख्य सहयोगमा सम्पन्न प्रतियोगिताले सौन्दर्यसँगै व्यक्तित्व, बौद्धिक क्षमता, आत्मविश्वास, नेतृत्व र प्रतिभालाई प्राथमिकता दिएको थियो।
समारी इन्टरनेशनलका अध्यक्ष भरत समारीको नेतृत्वमा आयोजित प्रतियोगितामा मिस र मिसेस विधाका गरी २० जना प्रतिस्पर्धी अन्तिम चरणमा सहभागी भएका थिए। देशका विभिन्न स्थानबाट आएका सहभागीले विभिन्न प्रतिस्पर्धात्मक चरण, प्रशिक्षण, सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन र र्याम्प वाकमार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
मिस विधातर्फ बिपिशा भट्टराईले मुख्य ताज जित्दा नुमा फुङ सुब्बा प्रथम उपविजेता घोषित भइन्।
मिसेस विधातर्फ रोजी श्रेष्ठले मुख्य उपाधि जितिन्। कल्पना प्रसाई ‘कामना’ प्रथम उपविजेता, सरिता राई द्वितीय उपविजेता, गम्भीर गंगा तृतीय उपविजेता र गीता देवी अर्याल चतुर्थ उपविजेता घोषित भए।
मुख्य उपाधि विजेता बिपिशा र रोजीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार, सम्मान र अवसर प्राप्त गरे।
प्रतियोगितामा विभिन्न विशेष उपाधि पनि प्रदान गरिएको थियो। कल्पना राईले पब्लिक च्वाइस अवार्ड, तीर्था कुमारी मगरले भ्युयर्स च्वाइस अवार्ड र हिमा कुमारी राजवंशीले म्यानेजमेन्ट च्वाइस अवार्ड प्राप्त गरिन्।
यसै अवसरमा राधा न्यौपाने ढकाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने गरी ‘मिसेस एसिया इन्टरनेशनल नेपाल २०२६’ को ताज प्रदान गरियो। दुर्गा देवी थापाले ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल २०२६’ को उपाधि प्राप्त गरिन्।

प्रतियोगिताको र्याम्प प्रस्तुति फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए। सहभागीहरूले पटुकीका आकर्षक पहिरनबाट र्याम्प प्रस्तुति सुरु गरेका थिए।
त्यसपछि उनीहरूले एमकेएम फेसन हाउस र द ग्ल्याम अपका लेहेंगा प्रस्तुत गरे भने आईआईएफटी नेपालका विद्यार्थी फेसन डिजाइनरले तयार पारेका आकर्षक पेजेन्ट गाउनमा समेत र्याम्प नापे।
कार्यक्रमको सुरुवात नेपाली परम्परागत पहिरनमा सजिएका प्रतिस्पर्धीहरूको सांस्कृतिक स्वागत प्रस्तुतिबाट भएको थियो। नृत्य प्रशिक्षक रिना श्रेष्ठले कोरियोग्राफी गरेको उक्त प्रस्तुतिले नेपाली कला र संस्कृतिको झल्को दिएको थियो।
प्रतियोगिताका सहभागीलाई व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, र्याम्प वाक, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा प्रदर्शन तथा नेपालको मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजीव खाती प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
निर्णायक मण्डलमा मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५ चन्दु बलामी, अधिवक्ता लिजा राई, गायक तथा सञ्चारकर्मी निर्णय श्रेष्ठ र मनास्लु वर्ल्ड कलेजका संस्थापक अध्यक्ष गेन्द्र लामा सहभागी थिए। पाककला विशेषज्ञ सेफ गोविन्द नरसिंह केसीले प्रमुख निर्णायकको जिम्मेवारी सम्हालेका थिए।
आयोजकका अनुसार विजेताहरूले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली महिलाको क्षमता, आत्मविश्वास, नेतृत्व र पहिचानलाई विश्वमञ्चमा प्रस्तुत गर्नेछन्।
समारी इन्टरनेशनल इभेन्ट्सले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक बिहे सेवा, साझेदार संस्था, निर्णायक, प्रशिक्षक, सञ्चारमाध्यम, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।
अध्यक्ष भरत समारीले प्रतियोगिताको दोस्रो सिजन सभ्य र भव्य रूपमा सम्पन्न भएको बताउँदै छिट्टै तेस्रो सिजनको तयारी सुरु गरिने जानकारी दिए।
आयोजकले ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड’ लाई सौन्दर्य प्रतियोगितामा मात्र सीमित नराखी नेपाली महिलाको प्रतिभा, नेतृत्व, आत्मविश्वास र सशक्तीकरणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अभियानका रूपमा अगाडि बढाउने जनाएको छ।

