
मोडल तथा अभिनेत्री अदिती बुढाथोकीले भारतीय मनोरञ्जन क्षेत्रमा आफ्नो सक्रियता निरन्तर बढाइरहेकी छन्। यसपटक उनी बलिउड अभिनेता जहीर इकबालसँग नयाँ पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्।
गीतको भिडियोमा अदिती र जहीरलाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ। आकर्षक लोकेसन, फिल्मी शैलीको प्रस्तुति र दुवै कलाकारबीचको रोमान्टिक केमेस्ट्री भिडियोको मुख्य आकर्षण बनेको छ।
जहीर बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका श्रीमान् हुन्। ‘फरिश्ता’मा उनले अदितीसँग पहिलोपटक स्क्रिन साझेदारी गरेका हुन्। समुद्री तटका मनमोहक दृश्यमा छायांकन गरिएको भिडियोमा उनीहरूको प्रेमकथालाई कलात्मक शैलीमा उतारिएको छ।
कमल खानको स्वर रहेको गीतमा ओए कुणालको संगीत तथा कम्पोजिसन छ। जसवन्त सिंहले निर्माण गरेको भिडियोको निर्देशन फरहाद साम्जीले गरेका हुन्। भिडियोमा आकर्षक छायांकन, सुन्दर दृश्य र सिनेम्याटिक प्रस्तुति समेटिएको छ।
जसराज रेकर्ड्सको प्रस्तुति रहेको ‘फरिश्ता’ परियोजनालाई पारस मेहताले संयोजन गरेका हुन्। यसको डिजिटल पार्टनर ईवाईपी क्रिएसन्स रहेको छ।
अदिती पछिल्लो समय नेपाली चलचित्रसँगै भारतीय म्युजिक भिडियोमा पनि सक्रिय देखिँदै आएकी छन्। उनले नेपाली चलचित्र ‘कृ’ र ‘बाबरी’मा अभिनय गरिसकेकी छन्। भारतीय मनोरञ्जन क्षेत्रमा निरन्तर काम गरिरहेकी अदितीका लागि ‘फरिश्ता’ अर्को महत्वपूर्ण सहकार्य बनेको छ।
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी – ‘फरिश्ता’ म्युजिक भिडियो हेर्नुहोस्


