रेखा थापा र गौरी मल्लसहित ‘ककाकिकी’को गीतमा यस्तो देखियो गाउँको उत्सव

भदौ १९ गतेबाट प्रदर्शनमा आउने ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतले गाउँघरको उत्सवमय वातावरण प्रस्तुत गरेको छ।

प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार युट्युब मार्फत गीत दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ। अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक खुसीको माहोललाई संगीत र नृत्यमार्फत प्रस्तुत गरेको छ।

गीतको भिडियोमा चलचित्रका कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगर लगायतलाई देख्न सकिन्छ। गायक अर्जुन सापकोटासँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्का पनि नृत्यमा प्रस्तुत भएका छन्। गीतको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन्।

जर्सिङ पौवामा छायांकन गरिएको भिडियो चलचित्रको कथाअनुसार गाउँमा भइरहेको उत्सवको परिवेशमा तयार पारिएको छ। निर्माण पक्षका अनुसार गीत सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। सामाजिक सञ्जालमा समेत धेरै दर्शकले गीतको प्रशंसा गर्दै चलचित्र हेर्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन्।

निर्देशक बिक्की अगरवालका अनुसार सार्वजनिक गीतले चलचित्रको ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गर्छ। गीतमार्फत चलचित्रप्रति दर्शकको उत्सुकता थप बढ्ने निर्माण पक्षको अपेक्षा छ।

‘ककाकिकी’मा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटा लगायतका कलाकारको पनि अभिनय रहेको छ।

चलचित्रको छायांकन सुदिप बरालले गरेका हुन्। निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले पटकथा लेखेका छन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रलाई सेभेन सिज इन्टरनेशनल फिल्मसले वर्ल्डवाइड रिलिज गर्दैछ। यो सिनेमा आगामी भदौ १९ गतेदेखि प्रदर्शन हुदै छ।