लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट

निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि प्रदर्शन हुँदैछ।

एक्सन स्टार निखिल उप्रेती फेरि आफ्नो परिचित तर अझ परिष्कृत अवतारमा फर्किएका छन्। उनको लेखन तथा निर्देशनमा बनेको नयाँ फिल्म ‘आचार्य’ को टिजर सार्वजनिक भएको छ, जहाँ तीव्र एक्सन, जोखिमपूर्ण स्टन्ट, भावनात्मक द्वन्द्व र निखिलका फरक–फरक अवतारले फिल्मप्रति उत्सुकता बढाएका छन्।

सन् २०१५ मा प्रदर्शन भएको ‘भैरव’ बाट निर्देशनमा पाइला चालेका निखिलका लागि ‘आचार्य’ दोस्रो निर्देशकीय फिल्म हो। लामो अन्तरालपछि निर्देशनमा फर्किएका उनले यसपटक एक्सनलाई अझ ठूलो स्केल र फरक दृश्य शैलीमा प्रस्तुत गर्ने संकेत टिजरमार्फत दिएका छन्।

सार्वजनिक टिजरमा निखिललाई लगातार एक्सन दृश्यको केन्द्रमा देख्न सकिन्छ। हातैले गरिएका स्टन्टदेखि तीव्र भिडन्तसम्मका दृश्यले उनको पुरानो ‘एक्सन स्टार’ छविलाई सम्झाउँछन् भने प्रस्तुति पहिलेभन्दा फरक देखिन्छ।

टिजरमा एक्सनसँगै भावनात्मक पक्ष र चरित्रको रहस्यलाई पनि ठाउँ दिइएको छ। निखिलका विभिन्न लुक्स तथा ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटुले पात्रको उद्देश्य र फिल्मको वैचारिक पृष्ठभूमिबारे समेत जिज्ञासा पैदा गर्छ। सार्वजनिक दृश्यहरूले कथा अन्यायविरुद्धको संघर्ष र प्रतिशोधतर्फ जान सक्ने संकेत गरे पनि निर्माण पक्षले पूर्ण कथावस्तु अझै खुलाएको छैन।

नेपाली सिनेमामा जोखिमपूर्ण स्टन्टलाई लोकप्रिय बनाउने कलाकारमध्ये निखिल अग्रपंक्तिमा पर्छन्। करिअरको सुरुवातदेखि नै शारीरिक रूपमा चुनौतीपूर्ण एक्सन दृश्यका लागि परिचित उनले ‘आचार्य’मा पनि यही विशेषतालाई नयाँ स्तरमा लैजाने प्रयास गरेको टिजरबाट देखिन्छ।

आचार्यको टिजर हेर्नुहोस्

‘आचार्य’मा नेपाली र भारतीय कलाकार

फिल्ममा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापतिले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्।

कलाकार समूहमा प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दीपराज राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोला लगायत छन्।

निखिल उप्रेती प्रोडक्सन्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता कृष्ण भट्टराई हुन्।

फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज कृष्ण थापाले गरेका हुन् भने एक्सन निर्देशन शुक्रराज शाहको छ। बन्दे प्रसादले सम्पादन गरेका छन्। टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।

निर्माण पक्षले फिल्मको आधिकारिक ट्रेलर असोज १ गते सार्वजनिक गर्ने जनाएको छ। ‘आचार्य’ भने असोज ९, २०८३ अर्थात् सेप्टेम्बर २५, २०२६ देखि सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ।