
Paras and Divya’s Chemistry Takes Centre Stage in Behuli Trailer
भोटेकोसीको विनाशकारी बाढीपछि रोकिएको चलचित्र ‘बेहुली’को प्रचार अभियान पुनः सुरु भएको छ। काठमाडौंको जय नेपाल हलमा आधिकारिक ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रबाट निर्माताको हिस्सामा आउने रकमको ५ प्रतिशत बाढी प्रभावितका लागि प्रदान गर्ने घोषणा गरेको छ।
चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता अर्जुन पोखरेलका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका प्रभावित नागरिकसम्म पुर्याइनेछ।
बाढीले निम्त्याएको संकट र पीडालाई ध्यानमा राख्दै निर्माण पक्षले यसअघि चलचित्रका प्रचारसम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गरेको थियो। परिस्थिति सहज बन्दै गएपछि रिलिजको पाँच दिनअघि ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई निरन्तरता दिइएको हो।
ट्रेलरमा पारस बम ठकुरी ‘कुल ब्वाई’ र दिव्या रायमाझीको प्रेमलाई केन्द्रमा राखिएको छ। उनीहरूको सम्बन्धसँगै परिवार, मित्रता र परिस्थितिले सिर्जना गर्ने द्वन्द्वका संकेत पनि ट्रेलरमा देखिन्छन्।
सुशान्त कार्की प्रहरीको भूमिकामा देखिएका छन् भने पदम तामाङको कमेडी र सन्तोष बानियाको फरक चरित्रले कथामा थप विविधता ल्याएको छ।
सशान कँडेल निर्देशित तथा माधव शर्मा लिखित ‘बेहुली’ भदौ २६ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुँदैछ।
चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषसँगै सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकार छन्।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता तथा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
नरेन्द्र मैनालीले डीओपी, विकास दाहालले सम्पादन र रोशन श्रेष्ठले एक्सन कोरियोग्राफी सम्हालेका छन्।
काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।


