ब्रेन ट्युमरको शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री निरौला, ‘पाँच पाण्डव’ फिल्मको सुरु गरिन् डबिङ

करिब दुई महिनाको स्वास्थ्यलाभपछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला ‘पाँच पाण्डव’को डबिङबाट काममा फर्किएकी छन्। डबिङ सुरु गर्नुअघि उनले स्टुडियोको ढोकामा ढोगेर नयाँ सुरुवात गरिन्।

Deepa Shree Niraula is back in the studio, dubbing for the upcoming Nepali film ‘Panch Pandav’ after taking time to recover. image courtesy: NewsFilmy

ब्रेन ट्युमरको शल्यक्रियापछि करिब दुई महिना स्वास्थ्यलाभमा रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पुनः काममा फर्किएकी छन्। उनले आउँदो तिहारमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’ को डबिङबाट आफ्नो व्यावसायिक यात्रालाई पुनः निरन्तरता दिएकी हुन्।

लामो अन्तरालपछि स्टुडियो पुगेकी दीपाश्री उत्साहित देखिएकी थिइन्। डबिङ सुरु गर्नुअघि उनले निर्देशक वसन्त निरौला, रेकर्डिस्ट, टेक्निसियन तथा स्टुडियोमा कार्यरत कर्मचारीलाई भेटेर अभिवादन गरेकी थिइन्।

कामप्रतिको आफ्नो आस्था झल्काउने क्रममा उनले डबिङ स्टुडियोको मुख्य प्रवेशद्वारमा ढोगिन्। त्यसपछि एडीआर (Automated Dialogue Replacement) सेसन सुरु गर्नुअघि पनि श्रद्धापूर्वक ढोगेर आफ्नो काम थालेकी थिइन्।

स्वास्थ्य समस्याका कारण केही समय फिल्म क्षेत्रबाट विश्राम लिन बाध्य भएकी दीपाश्रीका लागि यो डबिङ केवल एउटा नियमित प्राविधिक काम मात्र नभई झन्डै दुई महिनापछि सक्रिय फिल्मी जीवनमा फर्किएको क्षणसमेत बनेको छ।

असारमा भएको थियो ब्रेन ट्युमरको शल्यक्रिया

दीपाश्रीको मस्तिष्कमा देखिएको ट्युमरको गत २३ असारमा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको थियो। वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सकीय टोलीले शल्यक्रियामार्फत ट्युमर हटाएको थियो। अस्पतालले त्यसपछि उनको अवस्था स्थिर रहेको र शल्यक्रियापछि कुनै नयाँ जटिलता नदेखिएको जनाएको थियो।

शल्यक्रियापछि उनलाई केही समय चिकित्सकको निगरानीमा राखिएको थियो। अस्पताल बसाइको १८ दिनपछि साउन ७ गते उनी डिस्चार्ज भएकी थिइन्। त्यसयता चिकित्सकीय सल्लाहअनुसार आराम र स्वास्थ्यलाभमा रहेकी दीपाश्री अहिले क्रमशः नियमित काममा फर्किएकी हुन्।

उनको स्वास्थ्य अवस्थाबारे सहकर्मी तथा अभिनेता दीपकराज गिरीले पनि विभिन्न समयमा जानकारी दिँदै आएका थिए। शल्यक्रियापछि अस्पतालले मस्तिष्कमा रहेको ट्युमर पूर्ण रूपमा निकालिएको र तत्काल कुनै समस्या नदेखिएको जनाएको थियो।

‘पाँच पाण्डव’मा दीपाश्रीको अभिनय

दीपाश्री काममा फर्किएको फिल्म ‘पाँच पाण्डव’ निर्देशक वसन्त निरौलाको निर्देशनमा बनेको सामाजिक कथामा आधारित फिल्म हो। यसको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। निर्माण पक्षका अनुसार फिल्मको नाम महाभारतका पाँच पाण्डवबाट प्रेरित भए पनि यो धार्मिक वा पौराणिक फिल्म होइन। महाभारतका पाँच पाण्डवको विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको छ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन्। दीपाश्रीसँगै सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेलगायत कलाकारको पनि अभिनय छ।

काली रानी फिल्म्सको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मात्री काली रानी श्रेष्ठ हुन्। फिल्मको छायांकन झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको हो।

डल्बी एट्मस स्टुडियोमा डबिङ

‘पाँच पाण्डव’को पोस्ट–प्रोडक्सनसँगै डबिङको काम गत भदौदेखि सुरु भएको हो। फिल्मको डबिङ गौशाला, पिङ्गलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको म्युजिक नेपालको डल्बी एट्मस साउन्ड स्टुडियोमा भइरहेको छ। डबिङको सुरुवात हरिवंश आचार्यले गरेका थिए।

निर्माण पक्षले फिल्मको साउन्ड डिजाइनसमेत डल्बी एट्मस प्रविधिमा तयार गर्ने जनाएको छ। फिल्मको छायांकन श्याम तामाङ, सम्पादन तथा रङ संयोजन सुप्रिम पराजुली, संगीत अर्जुन पोखरेल, साउन्ड डिजाइन उत्तम न्यौपाने र ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहेको छ।

फिल्मलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ। निर्माण पक्षले ‘पाँच पाण्डव’लाई आउँदो तिहारको बिदा लक्षित गर्दै प्रदर्शनमा ल्याउने तयारी गरेको छ।

स्वास्थ्य उपचार र लामो आरामपछि दीपाश्रीको फिल्मी काममा पुनरागमन उनका शुभेच्छुकका लागि पनि सकारात्मक खबर बनेको छ। ‘पाँच पाण्डव’को डबिङसँगै उनले पुनः आफ्नो नियमित कलाकारिता यात्रातर्फ पाइला बढाएकी छन्।

SUBSCRIBE 👉