
नेपाली अभिनेत्री थिन्ले ल्हामो फेरि एकपटक अन्तर्राष्ट्रिय फिल्म महोत्सवको रेडकार्पेटमा देखिएकी छन्। हलिउड फिल्म ‘तेन्जिङ’ को विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर हुँदा थिन्ले फिल्मका हलिउड स्टार टम हिडलस्टन र विलेम डाफोसँगै रेडकार्पेटमा सहभागी भइन्।
अन्तर्राष्ट्रिय स्तरको ठूलो फिल्ममा नेपाली कलाकारको उपस्थितिले थिन्लेको अभिनय यात्रालाई थप चर्चामा ल्याएको छ। यसअघि फिल्म ‘शाम्बाला’ मार्फत बर्लिन फिल्म फेस्टिभलमा पुगेर अन्तर्राष्ट्रिय सिनेमा वृत्तमा चर्चा कमाएकी थिन्लेका लागि ‘तेन्जिङ’ अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रोजेक्ट बनेको छ।

‘तेन्जिङ’मा थिन्लेले विश्वप्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन्। फिल्ममा तेन्जिङ नोर्गेको भूमिकामा गेन्डेन फुत्सोक देखिएका छन् भने हलिउड अभिनेता टम हिडलस्टनले सर एडमन्ड हिलारीको भूमिका निभाएका छन्। त्यस्तै, विलेम डाफो पनि फिल्मको प्रमुख कलाकारमध्ये एक हुन्।
सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथाको शिखरमा पाइला राखेको ऐतिहासिक यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले तेन्जिङको जीवन, संघर्ष र हिमालसँगको सम्बन्धलाई कथाको महत्वपूर्ण आधार बनाएको छ। यही ठूलो ऐतिहासिक कथाभित्र थिन्लेले निर्वाह गरेको दावाको भूमिकाले नेपाली दर्शकका लागि फिल्मलाई अझ नजिक बनाएको छ।

‘शाम्बाला’बाट अन्तर्राष्ट्रिय दर्शकमाझ परिचित भएकी थिन्लेले ‘तेन्जिङ’मार्फत अब हलिउडका चर्चित कलाकारसँग पर्दा बाँडेकी छन्। टोरन्टोको रेडकार्पेटमा टम हिडलस्टन र विलेम डाफोजस्ता विश्वप्रसिद्ध कलाकारसँग उनको उपस्थितिले पनि नेपाली मनोरञ्जन क्षेत्रमा विशेष चासो पैदा गरेको छ।
विशेषगरी ‘शाम्बाला’पछि थिन्लेको अन्तर्राष्ट्रिय यात्रा कुन दिशामा अघि बढ्छ भन्ने चासो रहँदै आएको थियो। ‘तेन्जिङ’जस्तो अन्तर्राष्ट्रिय स्तरको ठूलो फिल्ममा महत्वपूर्ण भूमिकासहित देखिनुले उनको करिअरलाई अर्को चरणमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल र हिमालयसँग गहिरो सम्बन्ध राख्ने कथामा नेपाली कलाकारको उल्लेखनीय उपस्थिति हुनु आफैंमा पनि चासोको विषय बनेको छ। अब ‘तेन्जिङ’ सार्वजनिक भएपछि थिन्लेले निर्वाह गरेको दावा पात्र र उनको अभिनयले अन्तर्राष्ट्रिय दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्नेमा पनि ध्यान केन्द्रित हुने देखिन्छ।


