
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। शुभमुहूर्तसँगै निर्माण टिमले छायांकन थालेको हो भने चलचित्र चैत ४ गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा पनि गरिएको छ।
शुभमुहूर्त कार्यक्रममा चलचित्रका अधिकांश कलाकारको उपस्थिति थियो। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन पाँचखाल, पनौती र काठमाडौंमा गरिनेछ।
निर्देशक मिलन चाम्सले ‘म मदनकृष्ण’लाई दर्शकसम्म उत्कृष्ट रूपमा पुर्याउने प्रयास रहने बताएका छन्। “हाम्रो चलचित्र म मदनकृष्ण चैत ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ,” निर्देशक चाम्सले भने, “हामीले यसअघि अञ्जिलाको सिनेमा जसरी दर्शकले रुचाउनु भयो, त्यस्तै यो सिनेमालाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ।”
मदनकृष्ण श्रेष्ठजस्तो स्थापित व्यक्तित्वको संघर्ष, सफलता र अनुभवको लामो यात्रा पर्दामा उतार्न लागिएकाले आफ्नो टिम चलचित्रप्रति उत्साहित रहेको चाम्सले बताएका छन्।

मदनकृष्णको भूमिकामा महेश त्रिपाठी
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। मदनकृष्णकी पत्नी यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछिन्।
त्यस्तै, अरुण क्षेत्रीले हरिवंश आचार्यको भूमिका निर्वाह गर्नेछन्। लामो समयदेखि मदनकृष्ण श्रेष्ठसँग कलाकारितामा सहकार्य गर्दै आएका हरिवंश र मदनकृष्णको जोडी नेपाली दर्शकमाझ ‘मह जोडी’का रूपमा परिचित छ।
अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन्। उनले हरिवंश आचार्यकी पत्नीको भूमिका निर्वाह गर्नेछिन्।
बाल्यकालदेखि ‘मह जोडी’सम्मको कथा
‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष, सफलता र विभिन्न आरोह-अवरोह समेटिनेछन्। चलचित्रमा उनको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण अध्याय प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।
चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन्। उनले गत वर्ष राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा कप्तान अन्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक चलचित्र ‘अञ्जिला’ निर्देशन गरेका थिए।
कलाकारको ठूलो टोली
‘म मदनकृष्ण’मा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ भने काठमाडौं बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ।

